प्रधानन्यायाधीश राणाद्वारा सर्वोच्च पुगेर पदभार ग्रहण



काठमाडौं पुस, १८–
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले कार्यभार सम्हालेका छन् । बुधबार बिहान शितल निवासमा सपथ ग्रहण गरेलगत्तै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका हुन् ।
सेतो फूलको माला लगाएर हँसिलो मुद्रामा सर्वोच्च पुगेका जबरालाई अदालत परिसरमा न्यायाधीश र कर्मचारीहरुले लामबद्ध भएर स्वागत गरेका थिए ।

नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र शमसेर जबरा राणा प्रधानमन्त्री वीरशमसेरका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर समशेरका पनाति हुन् ।

जंगबहादुर राणा मरेपछि उनका भाइ रणोद्दीप सिंह केही समय श्री ३ महाराज प्रधानमन्त्री भए । तर, धीर समशेरका १७ भाइ छोराको धैर्य टुटेपछि उनीहरुले काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेका थिए । त्यसपछि जेठा वीर समशेर प्रधानमन्त्री तथा श्री ३ महाराजा भए ।

उनै वीर शमसेरका छोरा इन्द्र समशेरका नाति हुन् चोलेन्द्र शमसेर जबरा । चोलेन्द्रका पिता युवराज शमसेर राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।

वकालत गर्दागर्दै चोलेन्द्र ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतको सदस्य पनि भए ।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । उनी सन् १९९६ देखि पुनरावेदन अदालत हुँदै न्यायालयमा प्रवेश गरेका हुन् ।

सुकेधारा गणेशगौरी मार्गका स्थायी बासिन्दा राणाले कानूनमा स्नातक (डीएल) सम्म अध्ययन गरेका छन् । उनले सन् २०१३ मा कोरियामा न्यायालयको विकास सम्बन्धी तालिमसमेत लिएका छन् ।

उनी ०७१ जेठमा सर्बोच्च अदालतको स्थायी न्यायाधीश बनेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७५, बुधबार  ६ : ५५ बजे