कारबाहीको सिफारिसमा परेका पर्यटनमन्त्री अधिकारीमाथि नैतिक प्रश्नः ‘राजनीतिबाट सन्यास लिने त मन्त्री ज्यू ?’



काठमाडौं पुस, १८–
नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीमाथि कारबाही गर्न सिफारिस गरिएको छ । सुरुदेखि नै पर्यटनमन्त्री अधिकारीले विमान खरिदमा आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए । आफ्नो गल्ती देखिए राजनीतिबाटै सन्यास दिने उनको दाबी थियो । उनले भनेका थिएः ‘वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु ।’ तर, उपसमितिले मन्त्री अधिकारीलाई दोषी ठहर गरेको छ । महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनसम्मत नभएको प्रष्ट उल्लेख हुँदाहुँदै मन्त्री अधिकारीले छानविन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । साथै आफ्नो कार्यकालमा भुक्तानी नदिएको र अध्ययन गर्छु भनेर औपचारिकतामा मात्र कार्यदल बनाएको, महालेखाको परामर्श लिएर रकम भुक्तानी दिएको भनेर ढाँटेको पनि आरोप छ । उपममितिको प्रतिवेदनमा भनिएको छ, ‘रकम भुक्तानी गर्न बदनीयतपूर्वक मिलेमतो गरेको देखिँदा मन्त्रीले जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिँदा प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्दछ ।’
सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले उनी मात्र होइन, पूर्व पर्यटनमन्त्रीद्वय जितेन्द्र नारायण देव र जीवनबहादुर शाही पनि कारबाही सिफारिसमा परेका छन् । उपसमितिले दुई बहालवालालाई पनि निलम्बन सिफारिस गरेको छ। पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र गृह सचिव प्रेमुकमार राईलाई दोषी ठहर गर्दै उपसमितिले निलम्बनको सिफारिस गरेको हो। उपसमितिले कारबाही सिफारिस गरेका पूर्व पर्यटन सचिव शंकर अधिकारीले भने अवकाश पाइसकेका छन्।

प्रकाशित मिति : पुस १८, २०७५ बुधबार  ७ : ३१ बजे