काठमाडौं पुस, १९–वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवकशील साझा पार्टीभित्र खटपट देखिएको छ ।
पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे समीक्षात्मक प्रतिवेदन सबै सदस्य र नेतालाई पठाएसँगै असन्तुष्टि सतहमा आएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
१८ पृष्ठ लामो प्रतिवेदनमा साझा पार्टी गलत बाटोतर्फ गइरहेको निष्कर्ष छ । थापाले पार्टीभित्र शक्तिको चरम केन्द्रीकरण भएको, निषेधको राजनीति भित्रिने माहोल रहेको र सदस्यलाई जिम्मेवारी दिन अनुदारताले दल हराएजस्तो देखिएको टिप्पणी गरेका छन् ।
एक सदस्यले एकीकरणपछि विवेकशीलको नेतृत्वमा आउँदै गरेका युवालाई पुरानो साझा पार्टीका नेताहरूले उचित स्थान नदिएको आरोप लगाए । पार्टीभित्रको अनुदारताका कारण केही सदस्य निष्क्रिय बनेको र केहीले पार्टी छाडेको जनाउँदै उनले भने,‘निर्णय प्रक्रियामा सामूहिक सहभागिता कमजोर बन्दै गएको छ ।’
संयोजक थापाले पनि प्रतिवेदनमा संघीय निर्वाचनपछिको एक वर्षमा ४ केन्द्रीय सदस्यले राजीनामा दिएको र एक जनालाई बर्खास्त गरिएको उल्लेख गरेका छन् । सरोज धिताल, दिनेश प्रसाईं, रेशु अर्याल र ओम अर्यालले पार्टी छाडेका हुन् ।
थापाले पार्टीका काम समानान्तर रूपमा नभई सीमित नेतृत्वको गतिमा चल्नुपर्ने परिस्थिति बनेको जनाएका छन् । उनका अनुसार पार्टीका केन्द्रीय विभागहरू निष्क्रिय छन् ।
एकीकरणका बेला बनाइएको ३२ बुँदे सम्झौतापत्रमा भनिएका काम गरिएका छैनन् । राम्रो सूचना प्रवाह नहुँदा शंकाको घेरामा बसेका दलका सदस्यले फरक विचार र कार्यशैली राख्नेलाई ‘खुइल्याउने’ प्रवृत्ति देखिएको थापाको टिप्पणी छ ।
नेतृत्वमा ‘म प्रवृत्ति बढी र हामी प्रवृत्ति कम’ देखिएको जनाउँदै उनले पार्टीभीत्र नियमसंगत तरिकाले काम हुन नसकेको उल्लेख गरेका छन् । १६ महिनामा पनि सातै प्रदेशको संयोजक तोक्न नसकेको, दलको प्रादेशिक संरचना अधुरो देखिएको उनले जनाएका छन् ।