सबैका आ–आफ्नै तर्क छन् रेशम चौधरीको शपथबारे



काठमाडौं पुस, २०–टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ। सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाउँदै पटक(पटक सरकारमाथि दबाब दिँदै आएको थियो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

पुस १० गते राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोसहितका नेताले प्रधानमन्त्रीलाई भेट गरी चौधरीको शपथमा तत्काल कदम नचाले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएपछि सरकार दबाबमा थियो।

राजपा अध्यक्षमण्डलका नेताले चौधरीको शपथमा ठोस प्रगति नभए आफूहरू सदन अवरुद्ध गर्ने चेतावनी प्रधानमन्त्रीलाई दिएपछि उनले ७ दिन समय मागेका थिए। राजपाले चौधरीको शपथ, संविधान संशोधन गर्ने सहमतिमा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो।

राजपाको दबाबपछि सरकार चौधरीको मुद्दा फिर्ता नलिईकनै शपथ गराउन लचक बनेको हो। शपथका विषयमा सोमबार क्याबिनेट बैठकमा महान्यायाधिवक्तामार्फत कानुनी राय लिएर प्रक्रिया अघि बढाउने निर्णय भएको थियो। हिउँदे अधिवेशन सुरु भएको दिन राजपा अध्यक्षमण्डलका संयोजक महतोले चौधरीको शपथ नगराएकोप्रति आक्रोश पोखेका थिए। ‘१० वर्षे युद्धमा सयौं नागरिक(सुरक्षाकर्मी मारेका प्रचण्ड प्रधानमन्त्री बन्ने तर एउटा थारूको छोरा जसलाई जनताले अनुमोदित गर्दासमेत जेलमा सडेर बस्नुपर्ने’ महतोले संसद्मा असन्तुष्टि पोखेका थिए।

संसद् सुरु भएकै दिन महतोलगायत मधेसी नेताले सभामुख कृष्णबहादुर महरालाई भेट गरी शपथ गराउने दायित्व सभामुखको भएको भन्दै दबाब दिएका थिए। सभामुखले सरकार तयार नभई आफूले मात्र शपथ गराउन नसक्ने जवाफ दिएका थिए।

उनीहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार दिउँसो भेट गरी चौधरीको शपथका लागि दबाब दिएका थिए। दाहाल शपथका विषयमा सुरुदेखि नै सकारात्मक थिए।

टीकापुर घटनाछि फरार रहेकै अवस्थामा चौधरीले प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा रहेका दाहालसँग ०७३ असोज ३ मा भारतको ताजमहल होटलमा भेटेका थिए।

शपथमा दाहाल लचिलो बनेपछि सोही साँझ महतोलगायत मधेसी नेताले प्रधानमन्त्रीसँग भेट गरेका थिए। प्रधानमन्त्रीले कानुनी जटिलता मिलाएर आफूले शपथग्रहण गराउन प्रक्रिया अघि बढाएको जवाफ मधेसी नेतालाई अवगत गराएका थिए।

चैतमा चौधरीलाई शपथ खुवाउने तयारी भएको थियो। त्यसबेला जनस्तरबाट चर्को विरोध भएपछि तत्काल शपथ गराउने प्रक्रियाबाट सरकार पछि हटेको थियो।

प्रधानमन्त्रीले बिहीबार बिहान सभामुखलाई टेलिफोन गरी चौधरीको शपथ गराउन आग्रह गरेका थिए। महराले राजपा अध्यक्ष मण्डलका नेताहरूलाई टेलिफोन गरी संसद् सचिवालयले सिंहदरबारमा शपथग्रहणको तयारी गरेको अवगत गराएका थिए। ‘प्रधानमन्त्रीले शपथ गराउन भन्नुभयो, जेलमा गएर गर्दिनँ सिंहदरबारमा ल्याए गर्छु भने, त्यही भएर संसद् सचिवालयमा शपथ गराइएको हो’, सभामुख महराले सञ्चारकर्मीसँग भने।

चौधरी कैलाली(१ बाट निर्वाचित भएका हुन्। कैलालीको टीकापुरमा ०७२ भदौ ७ मा थरुहट र प्रहरीबीचको झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। सोही प्रकरणका कारण निर्वाचनका बेला फरार थिए, चौधरी। त्यसपछि वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा उनले रिट दर्ता गराएका थिए। तर, अदालतले व्यक्ति स्वयं उपस्थित भए मुद्दा हेर्न सकिने नत्र अदालतले नहेर्ने भन्दै रिट दरपिठमार्फत खारेज गरिदिएको थियो। चौधरीको मुद्दा विचाराधीन छ।

उनले चुनाव जितेपछि जिल्ला निर्वाचन कार्यालयले प्रमाणपत्र सीधै निर्वाचन आयोग पठाएको थियो। आयोगले चौधरीको प्रमाणपत्र संसद् सचिवालयमा पठाएको थियो। उनको शपथ कसरी गराउने भन्नेमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष दाहाल र राजपा अध्यक्षमण्डलका संयोजक महतो, महन्थ ठाकुरलगायत नेताबीच पटक(पटक छलफल चलेको थियो।

चौधरीले आफूले शपथ लिन पाउनुपर्ने माग गरी कैलाली कारागारभित्रै आमरण अनशन बसेपछि उनलाई फागुन २६ मा काठमाडौं ल्याई वीर अस्पतालमा भर्ना गरी शपथको तयारी गरिएको थियो। चैत २ गते ओली, दाहाल र महन्थबीचको छलफलमा चौधरीलाई शपथ खुवाउने समझदारी भएपछि गृहमन्त्री अस्पतालमै पुगेर अनशन तोडाएका थिए। सरकारको यो तयारीप्रति जनस्तरबाट चर्को आलोचना भएको थियो। शपथको विषय सेलाएको थियो।

चौधरीले थारू भाषामा शपथ लिएका छन्। प्रहरीको बाक्लो पहराबीच संसद् सचिवालय सिंहदरबार पुर्‍याइएका चौधरीलाई शपथपछि प्रहरी भ्यानमै राखेर डिल्लीबजार कारागार पुर्‍याएको थियो। सचिवालयले विशेष कार्यक्रम गरी चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएको हो।

प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार  २ : ३७ बजे