मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूरा भएन दीपक मनाङेको संसद यात्राको सपना, सपथ नगराउने सभामुखको निर्णय



काठमाडौं पुस, २२–
प्रदेशसभा सदस्यमा निर्वाति राजीव गुरुङ ऊर्फ दीपक मनाङेले सपथ लिन नपाउने भएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार सपथ गराउन नमिल्ने ठहर गरेसँगै मनाङे सपथबाट बञ्चित भएका हुन् ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापतिसमेत रहेका सभामुख अधिकारीले राजीवलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिए । राजीवलाई सपथ खुवाउने–नखुवाउने विषयमा सांसदहरुको फरकफरक मत छ ।
सभामुख अधिकारीले यसअघि सपथका विषयमा छलफल गर्न परामर्श समितिको बैठक डाकेका थिए । आइतबार बसेको बैठकमा पनि सपथ गराउने–नगराउने विषयमा छलफल भएको थियो ।

मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् ।

सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारी विभिन्न व्यक्तिसँथ छलफल तथा राय मागेका थिए । मनाङेले १२ गते एक व्यक्तिमार्फत प्रदेशसभामा सपथको माग गर्दै लिखित निवेदन दर्ता गराएका थिए ।

मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।

प्रतिनिधि सांसद रेशम चौथरीको सपथलाई नजिर मान्दै सभामुख अधिकारीले पनि राजीवलाई सपथ गराउनेअनुमान धेरैको थियो । तर, सभामुख अधिकारीले गुरुङलाई सपथ नगराउने निश्कर्ष निकालेका हुन् ।

मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै राजीवले सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए ।

राजीव गुरुङ सपथको माग गर्दै सर्वोच्च जान सक्ने छन् । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २२ पुस २०७५, आइतबार  ९ : ५० बजे