काठमाडौं पुस, २३–
सोमबार बिहानैदेखि राजधानीलगायत देशका विभिन्न स्थानमा हिउँदे बर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको हो । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘पश्चिमी भागमा हिजोदेखि नै वर्षा भएको थियो, आज राजधानीसहित पूर्वी भागमा वर्षा हुन्छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘उच्च हिमाली भूभागमा हिमपात पनि भइरहेको छ। काठमाडौं आसपासका फूल्चोकी र दामनमा पनि हिउँ पर्ने सम्भावना छ।’
काठमाडौको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ । त्यस्तै कर्णलीका हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।
यस्तै मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको केही भागमा हिमपात भएको छ। आज बिहानदेखि नै दामन र सिम भञ्ज्याङमा हिमपात भएको स्थानीयले बताएका छन्।
कँडेलका अनुसार सोमबार साँझसम्मै राजधानीलगायत पूर्वी नेपालको आकाशमा बादल हुनेछ।
‘भारी वर्षाको सम्भावना छैन, साँझपखपछि बादल हट्नेछ,’ उनले भनिन्, ‘मंगलबार पनि केही पहाडी भू(भागमा बादल लाग्नेछ तर तराईतिर भने मौसम सफा रहनेछ।’
हिउँदे वर्षासँग भोलिदेखि बिहान र साँझपख जाडो बढ्ने उनको भनाइ छ ।