मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुसभित्र नेकपाको एकिकरण टुंगो लाग्ने सम्भावना न्यून, अध्यक्ष ओलीको प्रतिवद्धता पूरा नहुने निश्चित



काठमाडौं पुस, २४–
नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया पुसमा पनि पूरा नहुने देखिएको छ । कार्यदलमा रहेका सदस्यहरु सरकारको मन्त्री पनि भएकाले एकता प्रक्रियाले मुर्त रुप पाउन नसकेको नेकपाका नेताहरुले बताउने गरेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुस महिनाभित्र स्थायी कमिटी बैठक बसेर पार्टी एकीकरणको काम टुंगो लगाउने बताएका थिए । तर, अध्यक्ष ओलीको प्रतिवद्धता पूरा नहुने देखिएको छ । मन्त्रीहरुले समय दिन नसकेपछि ९ सदस्यीय कार्यदलकै काम नसकिएकाले पुस मसान्तको ‘डेडलाइन अन्यौलमा परेको हो ।

नेकपाको स्थायी कमिटी बैठकले विधानका त्रुटी सच्याउने, प्रदेश कमिटी गठनको सन्दर्भ र पार्टीका अन्य कमिटी तथा जनवर्गीय संगठनहरु एकीकरणसहितको प्रस्ताव तयार गर्न ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई पुस २५ भन्दाअघि नै आफ्नो प्रस्ताव पेश गर्न अध्यक्षद्वय ओली र प्रचण्डले निर्देशनसमेत दिएका थिए ।

पुसभित्रै स्थायी कमिटीको अर्को बैठक बसेर सो प्रस्तावबमोजिम बाँकी काम टुंग्याउने र माघ महिनाभर सबै कमिटी एकीकरण सकेर भेला बैठक आयोजना गर्ने अध्यक्षहरुको प्रस्ताव छ । फागुन र चैतमा देशभर अभियान चलाउने निर्णय समेत नेकपाले गरिसकेको छ ।

कार्यदलमा संयोजक रामबहादुर थापासहितका नेताहरु मन्त्रालयको काममा व्यस्त रहँदा बैठक निरन्तर हुन नसकेको एक सदस्यले बताए । कार्यदलमा गृहमन्त्री बादल, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यन्त्री शंकर पोखरेल छन् ।

मन्त्री नभएका नेताहरु महासचिव बिष्णु पौडेल तथा स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, बेदुराम भुसाल र लेखराज भट्ट छन् । मन्त्रीको व्यस्तताका कारण लगातार बैठक बसेर प्रस्ताव तयार गर्न नसकिएको ती नेताले बताए ।

यसबीचमा कार्यदल प्रदेश कमिटीको एजेण्डामा प्रवेश गरे पनि त्यसमा थप छलफल भएको छैन । प्रदेश कमिटी गठनको मापदण्ड नमिलेको भन्दै माधव नेपाल पक्षले असहमति जनाउँदै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार  ५ : २० बजे