काठमाडौं पुस, २५–
सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री तथा मन्त्रीहरुसँग प्रश्नोत्तर गर्न सरकारलाई रुलिङ गरेपछि आजको संसद बैठक सुचारु भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले प्रश्न गर्न चाहेका थिए । तर, सभामुख महराले कांग्रेस सांसदहरुलाई प्रश्न गर्न नदिएपछि उक्त दिनको बैठक कांग्रेसले अवरुद्ध गरेको थियो । बुधबार पनि प्रश्नोत्तर गर्न पाउने व्यवस्था नगरे कांग्रेसले बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएको थियो । आज सभामुख महराले संसदमा सार्वजनिक महत्वको वक्तव्य दिन सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।
बुधबारको संसद बैठक सुरुमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताए ।
संसद नियमावलीको २१९ अनुसार सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रधानमन्त्री र मन्त्रीहरुले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने उनले बताए । खाँडले भने, ‘प्रधानमन्त्री र मन्त्रीजीहरु किन जवाफ दिन चाहनुहुन्न ?’
सांसदहरुको प्रश्न गर्न पाउने अधिकारको संरक्षणको जिम्मेवारी सभामुखको पनि भएको भन्दै उनले आइतबारको घटनामा सभामुखको पनि ध्यानाकर्षण गराए ।
लगतै सभामुख महराले २१९ अनुसार सार्वजनिक महत्वको वक्तव्य दिँदा सांसदहरुको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।