काठमाडौं पुस, २७–
तोकिएको मितिमा अधिवेशन गर्न नसकेपछि नेविसंघका सात पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय संजयकुमार यादव, पुष्प शाही र विकास केसी छन् । यसैगरी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत कलौनी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् । उनीहरु राजीनामा बुझाउन देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । आज राजीनामा बुझाउने सबै देउवा निकट विद्यार्थी नेता मानिन्छन् । एकै पटक ७ पदाधिकारीले राजीनामा दिएपछि अध्यक्ष नैनसिंह महर अफ्ठेरोमा पर्ने निश्चित छ ।
पत्र बुझ्दै सभापति देउवाले माघ १० मा बस्ने पार्टीको केन्द्रीय समिति बैठकले नेविसंघबारे निर्णय लिने बताएका थिए।
नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर, आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिँदैछ ।
पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको छ ।