कांग्रेसका राधेश्याम अधिकारीलाई भोट दिने निर्णय गरेपछि विवेकशील साझामा विवाद सुरु



काठमाडौं पुस, २८–गत वर्ष माघमा भएको राष्ट्रिय सभा चुनावका क्रममा विवेकशील साझा पार्टीमा विवादको बिउ रोपिएको थियो ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका कांग्रेससमर्थित राधेश्याम अधिकारीलाई पार्टीले भोट दिने निर्णय गरेपछि विवाद सुरु भएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

संयोजक मिश्रपक्षले अधिकारीको समर्थन गर्दा थापा पक्षले आपत्ति जनायो । थापापक्षले आफ्नै उम्मेदवार उठाउनुपर्ने आवाज उठायो । अन्ततः विवेकशील साझाको मत पाएर अधिकारी विजयी भए । त्यही निहुँबाट सुरु भएको विवाद विवेकशीलभित्र भुसको आगोझैँ सल्कियो ।

१९ साउनमा प्रदेश ३ का संयोजक र प्रदेशका पाँच जिल्ला संयोजकको नियुक्तिले विवाद झन् बढायो । असन्तुष्ट भएर चार केन्द्रीय सदस्यले पार्टी नै परित्याग गरे । पछिल्ला केही समययता थापा देश दौडाहामा निस्किए ।

कार्यकर्ताको सुझाबसहितको प्रतिवेदन तयार गरे । मिश्रपक्षलाई चित्त बुझेन । लगत्तै गत मंगलबार थापाको अनुपस्थितिमा मिश्रपक्षले पार्टीका १२ विभाग खारेज गरिदियो ।

पाँच नयाँ केन्द्रीय सदस्य मनोनयनको सिफारिस ग-यो । प्रदेश संयोजक पनि थपे । सो निर्णय अनुमोदन गर्न आगामी सोमबार केन्द्रीय समिति बैठक आह्वान भएको थियो । मिश्रपक्षको निर्णयबाट असन्तुष्ट थापापक्षले भने बैठक बहिष्कार गर्ने बताएको थियो । तर, बैठक नआउँदै थापा पक्षले पार्टी फुटायो ।

प्रकाशित मिति : पुस २८, २०७५ शनिबार  २ : ०३ बजे