दुई सहमहामन्त्रीसहित नेविसंघका ४५ जनाले दिए एकैपटक राजीनामा, अध्यक्ष महरमाथि महाधिवेशन भाँडेको आरोप



काठमाडौं पुस, २९–

निर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ भित्रको विवाद सतहमै छताछुल्ल भएको छ । नेविसंघका पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको राजीनामा दिने होड नै चलेको छ । शुक्रबार नेविसंघका महामन्त्री सरोज थापासहित ७ जनाले राजीनामा दिएको भोलिपल्ट शनिबार सहमहामन्त्री हरीहर शर्मा र ललिता सुनारको नेतृत्वमा ४५ जनाले राजीनामा बुझाएका छन् । उनीहरुले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत   सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएको नेविसंघका केन्द्रीय सदस्य पवन नेपालीले न्यूसंचारलाई जानकारी गराए ।

उनले थपिएको ३ महिनामा पनि नेतृत्वले महाधिवेशन गर्न नसकेकोमा आम कार्यकर्तासँग क्षमा माग्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरे । नेता नेपालीले नेविसंघका अध्यक्ष नैनसिंह महरकै कारण आज नेविसंघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेको ठोकुवा गरे । उनले अहिलेसम्म १३ जिल्लामा अधिवेशन सम्पन्न भएको बताईए पनि ११ जिल्लामा मात्रै भएको बताए । त्यो ११ जिल्लामा पनि दुई जिल्लामा विवादित रहेको उनको भनाइ छ ।

उनले भने, ‘नेविसंघकै अध्यक्ष नैनसिंह महरले महोत्तरीमा पठाएका महाधिवेशन प्रतिनिधिलाई फिर्ता बोलाएपछि आजको अवस्था सिर्जना भएको हो ।’ महोत्तरीमा पठाईएका महाधिवेशन प्रतिनिधिलाई अध्यक्ष महरले अधिवेशन उदघाटन नहुँदै फेसबुकबाट फिर्ता बोलाएको नेता नेपालीले बताए । उनले थपे, ‘अध्यक्षले केन्द्रीय प्रतिनिधि फिर्ता बोलाउनु भयो, अनि विवाद सुरु भयो ।’ त्यति मात्रै नभएर स्वयम् आफू नै महाधिवेशन प्रतिनिधि भएको बाँकेको महेन्द्र बहुमुखी क्याम्पसमा पनि आफू नपुग्दै अध्यक्ष महरले अर्को प्रतिनिधि पाठाएको नेता नेपालीले प्रष्ट पारे । उनले यस्ता हर्कत गर्ने अध्यक्ष महरका गतिविधि नै महाधिवेशन भाँड्न लागेका उदाहरण भएको दावी गरे ।

निर्धारित समयमा महाधिवेशन होस भनेर सबै प्रतिनिधि जिल्ला जिल्ला गएपनि अध्यक्ष लगायत तीनवटै महामन्त्रीको जिल्लामा अधिवेशनको कुनै रौनक किन देखिएन ? नेता नेपालीको प्रश्न छ । एकजना उपाध्यक्ष नविन राईको जिल्लामा मात्रै माहोल देखिएको नेता नेपालीको भनाइ छ ।

तपाईंहरुले राजीनामा दिएर अध्यक्षलाई असहयोग गर्न खोजेको हो ? भन्ने प्रश्नमा नेता नेपालीले भने, ‘नैनसिंह महरकै टिममा बसेका ९ जनाले यसअघि राजीनामा दिईसकेपछि अब हामीले राजीनामा दिनु के नै नौलो भयो र ?’

नेविसंघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेकोमा पार्टिका नेताहरुले समेत असन्तुष्टी जनाउदै आएका छन भने नेविसंघको कारण पार्टी समेत बिबादमा मुछिने गरेको छ ।

सरकार भ्रस्टाचारमा लिप्त हुँदा वाइड बडी भ्रस्टाचार काण्ड,निर्मला हत्या काण्ड,सरकारी तहा बाटै बिबादित धार्मिक कार्यक्रममा संलग्न हुँदा सम्म पनि नेविसंघ चुप लागेर बसेको र यसले गर्दा संघको शाख गिरेको भन्दै पछिल्लो समय पार्टी नेता कार्यकर्ता र विद्यार्थी नेताहरुले पनि असन्तुष्टि  व्यक्त गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार  ५ : ५२ बजे