मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले आफ्ना नेताका नाममा रहेका अस्पताल विघटन गर्न लागेको भन्दै राचन्द्र पौडेलको आपत्ति



काठमाडौं पुस, ३०–
वाइडबडी खरिद प्रकरणका बारेमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मुख खोलेका छन् । सोमबार संसदीय दलको कार्यलय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेका वरिष्ठ नेता पौडेलले आफ्ना सभापति शेरबहादुर देउवाको वाइडबडीमा संलग्नता छ÷छैन भन्नेबारे छानबिन गरेपछि मात्रै थाहा हुने बताए ।
वरिष्ठ नेता पौडेलले भने, ‘वाइडबडी काण्डमा उहाँ (शेरबहादुर देउवा) को संलग्नता छानबिन गरेपछि थाहा हुन्छ ।’ पार्टी सभापति देउवाले धनगढीमा उक्त काण्डमा आफ्नो संलग्नता नरहेको बताएको समेत नेता पौडेलले उल्लेख गरे । ‘धनगढीमा उहाँले म त छैन् भनेर भन्नु भा छ ,’ पौडेलले अघि भने ।
डा. गोविन्द केसीले उठाएका माग पूरा गर्नुपर्ने नेता पौडेलको भनाइ थियो । ‘यो समाजवादी सरकार हो भने, समाजवादी ब्यवस्था हो भने उहाँ (डा.केसी)को भनाइलाई गम्भिरतापूर्वक लिनुपर्छ ,’ पौडेलले भने । नेपाली कांग्रेसले आफ्ना दुई नेताको नाममा स्थापित अस्पताल सरकारले विघटन गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।

त्यस्तै नेता पौडेलले सरकारले आफ्ना नेताहरुको नाममा रहेका अस्पताल विघटन गर्न लागेको आरोप पनि लगाए । उनले तनहुँको बेलचौतारामा रहेको गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल विघटनको प्रक्रिया सुरु गरेको जानकारी आएको भन्दै कांग्रेसले आपत्ति जनाए ।

स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पताललाई केन्द्र सरकार मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेकोमा यी दुईबाहेक अन्य अस्पतालको मात्र निर्णय भएको जानकारी पाएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

‘केही अस्पताल प्रदेश होइन केन्द्रमा राख्नुपर्छ भनेर ११ वटा अस्पताल केन्द्रमा राख्ने स्वास्थ्य मन्त्रालयले प्रस्ताव पठायो, क्याविनेटले यी दुई अस्पताललाई बाहेक गरेर अरुलाई सदर गरेर पठायो’ नेता पौडेलले भने, ‘अनि स्वास्थ्य मन्त्रालयमा विघटनको प्रक्रियामा लाने भनेर विघटन प्रक्रिया सुरु गर्‍यो भन्ने खबर पायौं ।’

सरकारले कांग्रेस नेताको नाममा स्थापित अस्पताल विघटनको प्रक्रिया सुरु गरेर प्रतिपक्षप्रति पक्षपातपूर्ण ब्यवहार गरेको नेता पौडेलले आरोप लगाए । उनले भोलिसम्म प्रधानमन्त्रीको जवाफको प्रतीक्षा गर्ने र त्यसपछि कांग्रेसले आफ्नो कदम चाल्ने बताए ।

‘प्रधानमन्त्रीको जवाफको भोलिसम्म प्रतीक्षा गर्छौं, सरकारले यही रवैया अगाडि बढाएमा , प्रतिपक्षप्रति पक्षपातपूर्ण व्यवहार गर्छ भने हामीले पनि हाम्रो डिफेन्सका लागि कठोर कदम चाल्नुपर्ने हुन्छ’ नेता पौडेले भने ।

हाल ती अस्पतालमा सञ्चालक समिति पनि विघटन गरेर अलपत्र अवस्थामा राखिएको उनले बताए ।

प्रकाशित मिति : ३० पुस २०७५, सोमबार  २ : १८ बजे