डा. केसीलाई अवमूल्यन नगर्न कांग्रेसको चेतावनी, भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग



काठमाडौं माघ, २–
नेपाली कांग्रेसले डा गोविन्द केसीको मागप्रति सरकार ‘संवेदना शून्य’ देखिएको आरोप लगाएको छ । प्रमुख विपक्षी समेत रहेको कांग्रेसले डा. केसीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग समेत गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले डा. केसीलाई एउटा व्यक्ति भनेर अवमूल्यन गरेको भन्दै त्यसोख नगर्न चेतावनी समेत दिए ।
उनले भने, ‘तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाब पर्खने सम्माननीय प्रधानमन्त्रीका सामुन्ने दुई वटा विकल्प छन् । विषयलाई गम्भीरतापूर्वक लिन हामी विनम्र भाषामा हार्दिक अपिल गर्न चाहन्छौं ।’
पहिले केसीसँग सहमति गर्ने र अहिले पालना नगर्ने प्रधामन्त्रीको दोहोरो चरित्रका कारण समस्या सिर्जना भएको उनले बताए ।
प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. के.सी.सँग पछिल्लो सम्झौता भएको भन्दै प्रवक्ता शर्मालो संसदको शिक्षा तथा स्वास्थ्य समिति मार्फत त्यो खण्डीत हुन पुगेको बताए । उनले भने, प्रधानमन्त्रीकै अग्रसरता र वचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन हुन सक्दैन भने त्यो अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ ।’
सरकार संवेदनाशून्य ढंगले समाधानको विपरीत अघि बढ्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । ‘यस्तो प्रवृत्तिको भत्र्सना गर्दै नेपाली कांग्रेस तत्काल पुराना सहमतिमा फर्कन र समाधानमा पुग्न सरकारलाई सचेत गराउन चाहन्छ’ प्रवक्ता शर्माले भनेका छन् ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  १० : ४५ बजे