काठमाडौं माघ, ३–उपत्यकामा ट्राफिक जामले सिमा नै नाघ्न थालेको छ । जामका कारण भाडाका ठूला बस, माइक्रो र ट्याक्सी चढ्न पनि यात्रुहरुलाई समस्या परिरहेका बेला नयाँ प्रविधिमा आधारित दुई वटा सेवालाई भने ट्राफिक प्रहरीले बन्द गराएर मुलुकलाई ढुंगे युगतर्फ लैजान खोजेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
ट्याक्सी व्यवसायीको सिन्डिकेटलाई मलजल पु-याउन महानगरिय ट्राफिक प्रहरी महाशाखाले नयाँ सञ्चार प्रविधिमा आधारित टुटल र पठाओ सेवालाई बन्द गरको हो । जसका कारण चौतर्फी विरोध शुरु भएको छ । उपत्यकामा चल्दै आएका ट्याक्सी व्यवसायीको दबाबमा परेर ट्राफिक प्रहरीका एसएसपी वसन्त पन्तले नयाँ प्रबिधी र सस्तो यातायात सेवा दिंदै आएको टुटल र पठाओ सेवालाई बन्द गरेसँगै यात्रुहरु थप मर्कामा पर्ने भएका छन् । योसँगै ट्याक्सी व्यबासायीको सिन्डिकेटको प्रभाव बढ्ने निश्चित छ ।
कम्पनीमा दर्ता भएर चलाइएको उक्त सेवालाई यातायातमा दर्ता गर्नुपर्ने नाममा एसएसपी पन्तले मनपरी निर्णय गरेर टुटल र पठाओको सेवा नै बन्द गराइदिएका छन् । टुटल र पठाओ सेवाअन्तर्गत यात्रुलाई सेवा दिइरहेका चारजना मोटसाइकलधनीलाई कारबाही गर्दै ट्राफिक प्रहरीले उनीहरूको सेवा बन्द गरेको हो । टुटल र पठाओ भनेका निजी मोटरसाइकलमा यात्राको सुविधा दिने मोबाइल एप हुन् । यी एपले सेवा दिने मोटरसाइकल र यात्रुलाई जोड्ने गर्छन् ।
उपत्यकामा यो सेवा लोकप्रिय बन्दै गएपछि सरकारको समर्थनमा सिन्डिकेट लाद्दै आएका ट्याक्सी सञ्चालकहरूले ट्राफिक प्रहरीमार्फत यी सेवा बन्द गराउन दबाब दिएका थिए । ट्याक्सी व्यवसायीले ट्राफिक प्रहरीका प्रमुख एसएसपी पन्तलाई आफ्नो पक्षमा पार्न सफल भएपछि मोटरसाइकल चालकलाई पक्राउ गरेर सेवा नै बन्द गर्नुलाई एसएसपीको हुकुमी शैलीका रुपमा लिइएको छ । सरकारले नयाँ प्रविधिलाई रोक्ने गरी गरिएको यो कार्य सरकारकै स्मार्ट सिटी बनाउने अवधारणाविपरीत भएको सूचना तथा सञ्चार विज्ञ मनोहर भट्टराईले बताउँछन् । ।
पछिल्लो समय उपत्यकामा टुटल र पठाओ सेवामा जोडिने ग्राहकको संख्या उल्लेख्य बढ्दै गएको थियो । दुई वर्षअघि सेवा सुरु गरेको टुटलसँग १२ हजारभन्दा धेरै राइडर छन् भने चार महिनाअघि सञ्चालनमा आएको पठाओले ३० हजार राइडर रहेको उल्लेख गरेको छ । त्यस्तै, पठाओको एप दुई लाखपटक डाउनलोड भइसकेको छ । यसरी दुबै एप्सको लोकप्रियता बढ्दै गएको अवस्थामा नेपाल मिटर ट्याक्सी संघ ऐनविपरीत भएको भन्दै सेवा नै बन्द गराउन सफल भएको छ । उपत्यकामा ट्याक्सी र भाडाका बसहरुको मनपरी, सार्वजनिक यातायातको समस्याले गर्दा यी सेवाबाट हजारौं यात्रुले पाइरहेको राम्रो सेवामाथि एसएसपी पन्तकै कारण यात्रुहरु थप समस्यामा पर्ने भएका छन् ।
त्यसो त उपत्यकामा दिन प्रतिदिन बढ्न थालेको जामप्रति पन्तलाई कुनै चासो नै छैन । हालका आईजीपी सर्वेन्द्र खनाल ट्राफिक महाशाखाको प्रमुख छँदा चोक–चोकमा इन्सपेक्टरदेखि एसपीसम्मलाई खटाएर ट्राफिक व्यवस्थापन गरेका थिए । उनले ठाउँ–ठाउँमा लामो समयदेखि सञ्चालनमा आउन नसकेका ट्राफिक लाइटलाई मर्मत गरी बालेर सहज बनाएका थिए । तर, ति ट्राफिक लाईटहरु अहिले पुरानै अवस्थामा पुगिसक्दा पनि एसएपी पन्त कानमा तेल हालेर बसेका छन् ।
सडकमा हर्न बजाउने क्रम पनि झन बढेको छ । यस्ता कुराहरुमा एसएसपी पन्तलाई कुनै ध्यान छैन । नयाँ काम गरेको देखाउन एसएसपी पन्तले खुलामञ्च वरपरका १० स्थानमा ‘पिक एण्ड ड्रपको’ नाममा यात्रुहरुलाई अनावश्यक सास्ती दिइरहेका छन् भने ट्राफिक जाम ह्वात्तै बढेको छ । ‘पिक एण्ड ड्रपको’ चौतर्फी विरोध हुँदा समेत उनी सडकमा डोरी टाँगेर ट्राफिक जामलाई झन बढाइरहेका छन् ।