काठमाडौं माघ, ३–
माघ २ गतेदेखि वैधानिकता सकिएको नेपाल विद्यार्थी संघको म्याद थपिएपछि नेविसंघ भित्रको विवाद झन् उत्कर्षमा पुगेको छ । नेविसंघको म्याद सकिएपछि एकथरी म्याद थप्नुपर्ने र अर्को थरी म्याद थप्न नहुने तर्क गर्दै आईरहेका थिए । नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठनको रुपमा परिचित नेदविसंघको दर्जनौं नेता–कार्यकर्ताहरुले म्याद थपिएको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् । मोटरसाइकल र्यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेर धर्ना दिएका हुन् ।
नेविसंघको झण्डा बोकेका उनीहरुले ‘नेबिसंघ जिन्दावाद’को नारा लगाएका थिए । माइक्रो बससमेत रिजर्भ गरेर बुढानिलकण्ठ पुगेका उनीहरुले देउवा निवास अगाडि धर्ना दिएका छन् ।
दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवास वरपर सुरक्षा तैनाथी बढाइएको छ ।
विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो, तर कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ । पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता–कार्यकर्ताहरु विरोधमा छन् ।
नेविसंघका उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते नै पदबाट राजनीनामासमेत दिइसकेका छन् । त्यस्तै, सहमहामन्त्रीद्वय हरीहर शर्मा र ललिता सुनारको नेतृत्वमा अन्य ४५ जनाले पनि राजीनामा बुझाईसकेका छन् ।
यसअघि पटक–पटक म्याद थप भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविसंघको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।
नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद यही माघ २ गते सकिएको छ ।
पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन सकेन ।
समयमा महाधिबेशन गर्न नसकेको, साङ गठनिक काम चुस्त दुरुस्त ढङ्गले गर्न नसकेको,भ्रस्टाचार र सरकारको अधिनायकबादी रबैयाको बिरोध गर्न चुकेको भन्दै नेविसंघ नेतृत्वको पार्टी भित्र आलोचना बढ्दै गएको छ ।