मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज कांग्रेस केन्द्रीय समिति बस्दै, नेविसंघ विवाद र संसद अवरोध बैठकका मुख्य एजेण्डा



काठमाडौं माघ, १०–
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । आजको बैठकमा मुख्यतया पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) को म्याद थप, सरकारविरुद्धका आन्दोलनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
अहिले बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको कांग्रेसले जनाएको छ । बैठकमा मुख्यगरी नेविसंघ विवाद, सदनमा कांग्रेसले गरिरहेको अवरोध र महासमिति बैठकले पारित गरेको विधानलाई डकुमेन्टेशन गर्ने बिषयमा बैठक केन्द्रीत हुने कांग्रेस नेता प्रदीप पौडेलले जनाए ।

विधानअनुसार, भदौ २ गते हुनुपर्ने नेविसंघको १२ औं महाधिवेशन आन्तरिक विवादले पाँचौंपटक सम्म म्याद थप्दा पनि हुन सकेको छैन । वर्तमान कार्यसमितिको म्याद माघ २ गते सकिएपछि नेविसंघभित्रको सांगठिनक अन्यौलता चुलिएको छ ।

म्याद थपका विषयमा कांग्रेस नेताबीच नै एकमत छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह म्याद थप्न नहुने पक्षमा छ भने सभापति शेरबहादुर देउवा र कांग्रेस नेता कृष्णप्रसाद सिटौला स्ववियू निर्वाचन नजिकिएकाले म्याद थपेर अघि बढ्नुपर्ने पक्षमा छन् । यसबारे बुधबार पार्टी सभापति देउवाले नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग समेत छलफल गरेका थिए ।

म्याद थप गनुपर्ने मत पार्टीभित्र बलियो देखिए पनि नेविसंघका महामन्त्री सरोज थापासहित ७ पदाधिकारीले यसअघि नै राजीनामा दिइसकेका छन् । केही समयअघि म्याद थप नगर्न जुलुससहित नेविसंघका नेता–कार्यकर्ताले देउवा निवास बूढानीलकण्ठ पुगेर धर्ना दिएका थिए ।

आज बस्ने बैठकले नेविसंघको यही विवादबारे आवश्यक निर्णय लिने नेताहरुले बताएका छन् ।

त्यसैगरी सदनको अवरोधलाई पनि आजको बैठकको मुख्य एजेन्डा बनाइएको छ । सरकारले कांग्रेसको असहमतिकै बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेपछि कांग्रेसले त्यसको प्रतिक्रियास्वरुप केही दिनदेखि सदन अबरुद्ध गर्दै आएको छ । आजको बैठकले सदनको अवरोधबारे पनि छलफल गर्ने नेता प्रदीप पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  ५ : २४ बजे