सरकार र सभामुखप्रति गगनको गर्जनः संसदलाई आफ्नो विभागीय कार्यालय नठान्न चेतावनी



काठमाडौं माघ, १०–
नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले संसदलाई आफ्नो विभागीय कार्यालय ठानेको आरोप लगाएका छन् । बिहिबार रिपोर्टस् क्लबको कार्यक्रममा बोल्दै थापाले सरकारले पेलेर देखाउन खोजे सरकारलाई पनि देखाउन पछि नपर्ने चेतावनी दिए । थापाले सभामुखलाई सत्तारुढ पार्टीको संसद वा मन्त्रीले आदेश दिने र त्यसै अनुरुप सभामुखले संसद चलाउन खोजेको आरोप समेत लगाए ।

उनले सरकारले संसदको सर्वोच्चतामाथि नै प्रहार गरेको भन्दै थापाले सभामुख पनि पूर्वाग्रही ढंगले चल्न खोजेको बताए । उनले सभामुखकको क्रियाकलापले संसदको मानमर्दन भएको बताए । सत्तारुढ दलका सांसदले खुला मञ्चबाट, चोक चौताराबाट भोलि यसरी संसद चल्छ भनेर फतवा जारी गर्ने र सभामुख त्यसैगरी चल्दै जान खोज्नुले सार्वभौम संसदको सर्वोच्चातामाथि प्रश्न उठ्ने नेता थापाको तर्क छ ।

नेता थापाले भने, ‘सभा चलाउने सभामुखले हो । सभामुखले कसैको आदेश तामेली गर्ने वा अरुको आदेश मान्दै हिँड्ने हो भने संसदको सर्वोच्चतामै प्रश्न उब्जन्छ, ।’
प्रतिपक्षीलाई देखाइदिन्छु भन्ने सोचले सभामुख पनि सत्तापक्षको लहडमा लागे शुक्रबार बस्ने संसद पनि अवरुद्ध गर्न कांग्रेस बाध्य हुने उनले बताए ।शुक्रबार बस्ने बैठक अघि बढ्ने वा नबढ्ने भन्ने कुरा सभामुख र सरकारमा निर्भर रहेको पनि थापाले बताए ।
सदन अघि बढाउने सवालमा अहिलेसम्म सभामुख र सरकारले प्रतिपक्षसँग छलफलको पहल नगरेको भन्दै उनले भोलिसम्म आफूहरु कुरेर बस्ने बताए ।

बसेकै ठाउँबाट विधेयक पास गर्ने कुरा सत्तारुढ दलले गरेको भन्दै उनले विगतको कुरालाई ल्याउने हो भने ५८ दिनसम्म पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई संसद छिर्न नदिएको कुरा नभुल्न सचेत गराए ।

प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार  ९ : १७ बजे