काठमाडौं माघ, ११–
गोविन्द केसीको माग, निर्मला पन्त हत्यारा पत्ता लगाउनुपर्ने तथा सरकारको अधिनायकवादी चरित्रको विरोधमा प्रदर्शन गर्दै आएको कांग्रेस भातृसंस्था नेपाल विद्यार्थी संघले आज पनि वानेश्वरमा प्रदर्शन गरेको छ । वानेश्वरमा प्रदर्शन गरिरहेका नेविसंघका दर्जन बढी नेता कार्यकर्ता पक्राउ परेको नेविसंघले जनाएको छ ।
संसद भवन अगाडी प्रदर्शन गरेका नेवि संघ केन्द्रीय सदस्य नवराज त्रिपाठी, नेता मनिष सिम्खडा, नारायण घिमिरे, अर्बत खड्कालगायतलाई प्रहरीले पक्राउ गरेको नेविसंघका एक नेताले जनाए । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकु लगिएको छ । वानेश्वर संसद भवन अघिबाटै आजै विवेकशीलका २५ नेता कार्यकर्ता पक्राउ परेका थिए । यतिवेला वानेश्वरको अवसथा तनावग्रस्त बनेको छ ।
न्यायका लागि लडेका गोविन्द केसी र निर्मला पन्त हत्याको छानबिन नभएसम्म प्रदर्शन जारी राखिने केन्द्रीय सदस्य त्रिपाठीले बताए । नेवि संघ प्रहरी दमनविरुद्ध जहिले पनि सडकमा उत्रिने नेता सिम्खडाले जानकारी दिए । नेविसंघले यो साता लगभग नियमित जसो आन्दोलन गर्दे आएको छ । यसअघिको आन्दोलनमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहित १४ जना घाइते भएका थिए ।
११ माघ २०७५, शुक्रबार
0
Shares