मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीले मागे प्रधानमन्त्री ओलीको राजीनामा, संसदमा जवर्जस्ती गरेर विधेयक पारित गरेको आरोप



काठमाडौं माघ, ११–
शुक्रबार संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएलगत्तै डा. गोविन्द केसीले आकस्मिक पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमार्फत डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागेका छन् । उनले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका हुन् । शुक्रबारको संसद बैठकमा सत्ता पक्षले जवर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेपछि अपराह्न अस्पतालमा नै पत्रकार सम्मेलन गर्दै डा. केसीले माग पूरा नभएसम्म सत्याग्रह जारी राख्ने समेत बताएका हुन् ।
आफूहरुसँग यस अघि भएको सम्झौता पूरा गर्न माग गर्दै डा केसीले प्रधानमन्त्रीले आफ्नो नैतिकता त्यागेर चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराएको भन्दै उनले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताएका हुन् ।

डा. केसीको तर्फबाट उनका सहयोगी डा. जीवन क्षेत्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए । उनले यस अघिका विभिन्न सरकारसँग भएका सम्झौैता र १५ औं सत्याग्रहको क्रममा यही सरकारसँग भएको सम्झौताबाट दीर्घकालीन रुपमा चिकित्सा शिक्षा विधेयकमा कस्ता व्यवस्थाहरु आउनुपर्छ भन्ने विषय यकीन भईसकेको बताएका छन् ।

उनले १५ औं सत्याग्रहको क्रममा नेकपाका संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कस्ता व्यवस्थाहरु विधेयकमा राख्ने भन्ने विषयमा भएका सहमती प्रतिकूल हुनेगरी संसदमा जवर्जस्ती गरेर विधेयक पारित गरेको आरोप समेत उनले लगाएका छन् ।

उनले ३ करोड नेपालीले सर्वसुलभ स्वास्थ्य शिक्षा पाउने अधिकार भन्दा पनि पार्टीसँग साँठगाँठ भएका मानिसहरुको स्वार्थ पूरा हुनेगरी चिकित्सा शिक्षा विधेयक पारित गरिएको आरोप उनको छ । यो विधेयकले सम्पूर्ण नेपाली नागरिकहरुमाथि नै सुनियोजित रुपमा धोका भएको उनको ठहर छ ।

उनले चिकित्सा शिक्षा विधेयकसँगै आफूले राखेका बाँकी ६ वटा मागहरु पूरा नभएसम्मको लागि आफ्नो सत्याग्रह फिर्ता नलिने पनि केसीले पत्रकारसम्मेलन मार्फत् स्पष्ट पारेका हुन् ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  १२ : ४९ बजे