मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीका इन्काउन्टरको छानबिनमा मानवअधिकार आयोगको चासो देखिएन



काठमाडौं माघ, १२–प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको हो ।

इन्काउन्टर घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

इन्काउन्टरका नाममा कतिपय अवस्थामा प्रहरीले पक्राउ गरेर अभियुक्तलाई गोली हानेको छ । त्यससम्बन्धी प्रस्ट प्रमाण भेटिँदासमेत राष्ट्रिय मानवअधिकार आयोग मौन बस्न थालेपछि प्रहरीले मुठभेडका नाममा पक्राउ गरेर गोली हान्ने घटना बढाउँदै लगेको हो ।

प्रहरीको आलोचना

बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । अभियुक्तसँगै प्रमाण नष्ट गरेको भन्दै जुन घटनाले प्रहरीको व्यापक आलोचना भयो । अभियुक्तलाई पक्राउ गरेको छिमेकीले नै देखेका थिए र प्रहरीले उनीहरूले प्रहरीमाथि जंगलमा गोली चलाउन खोजेको बतायो । मुठभेडको कुनै संकेत नभएको आयोगको प्रारम्भिक छानबिनमा खुलेको थियो ।

यसअघि राजधानीमा भएका अन्य दुई इन्काउन्टर घटनामा पनि आयोगले अप्रत्यक्ष रूपमा प्रहरीलाई साथ दिएको थियो । गुन्डागर्दीमा संलग्न आरोपमा दिनेश अधिकारी चरी र कुमार घैँटे प्रहरीको गोलीबाट मारिएको घटनामा आयोगले अहिलेसम्म छानबिन टुंग्याएको छैन । घैँटेले त आफूलाई प्रहरीले हत्या गर्न खोजेको भन्दै पहिले नै आयोगमा उजुरी दिएका थिए । चरीको इन्काउन्टर भनिए पनि अन्यत्र हत्या गरेर फालिएको प्रारम्भिक छानबिनमा खुलेको थियो ।

यी सबै घटनाको छानबिन रिपोर्ट प्राप्त नभइसकेको मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउँछिन् । प्रहरीबाट भइरहेको इन्काउन्टरको प्रवृत्ति गलत भएको उनको भनाइ छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भने तराईमा केही समूह सक्रिय हुन खोजेपछि उनीहरूलाई निस्तेज बनाउन प्रहरी आक्रामक बनेको बताउँछन् । प्रहरीले पेसेबर अपराधीविरुद्ध ‘सुट आउट’को रणनीति लिएको बताएको छ । तर, आपराधिक पृष्ठभूमि नै नभएको र सजिलै पक्राउ गर्न सक्ने अवस्थामा पनि गोली चलाउने गरेको छ । काम देखाउने होडबाजीमा यसरी प्रहरी अधिकारीहरूले ‘इन्काउन्टर’ रणनीति लिएका छन् । यसले निर्दाेषसमेत प्रहरीबाट पीडित हुने जोखिम बढेको छ । मानवअधिकार आयोगकी अध्यक्ष अन्सारी भन्छिन्,

‘प्रजातान्त्रिक समाजमा यो प्रहरीको यो प्रवृत्ति एकदमै गलत छ’

छिमेकी मुलुक भारतमा पनि अन्र्डरवल्र्ड सिध्याउने नाममा जथाभावी गोली हान्ने विकृति बढेको थियो । इन्काउन्टरका नाममा गोली हान्ने केही प्रहरी अधिकारीहरूविरुद्ध नै मुद्दा दायर भई कैद सजाय भएपछि जथाभावी इन्काउन्टर न्यून भएको थियो । अपराधीलाई ‘टाउको उठाउन नदिने’ उद्देश्यअनुसार यसरी इन्काउन्टरको रणनीति लिएको छ । तर, अपराध नियन्त्रण गर्ने नाममा यो सामान्य अवस्थामा पनि गोली हान्ने चर्चा कमाउने प्रवृत्तिसमेत बढ्न थालेको छ । प्रहरी अधिकारीबीच काम देखाउने होडबाजीमा निर्दाेष व्यक्तिहरूमाथि प्रहरी गोलीको निसाना पर्ने जोखिम बढेको छ ।

प्रहरी गलत बाटोमा छ : मोहना अन्सारी
सदस्य, राष्ट्रिय मानवअधिकार आयोग

प्रहरीमा पछिल्लो समय जुन इन्काउन्टरको प्रवृत्ति सुरु भएको छ, यो एकदमै गलत छ । यसमा हामीले नियमित रूपमा भन्दै पनि आएका छौँ । संविधानले नै नागरिकको जिउ–ज्यान सुरक्षाको अधिकारको ग्यारेन्टी गरेको छ । जस्तोसुकै अपराधमा संलग्न व्यक्ति भए पनि उनीहरूलाई पक्राउ गरेर कानुनअनुसार कारबाही गर्नुपर्छ । पछिल्ला घटनाहरू पनि आयोगले नजिकबाट हेरिरहेको छ । विगतमा भएका घटनाको छानबिनका लागि गठन भएका टिमबाट रिपोर्ट प्राप्त भइसकेका छैनन्, रिपोर्ट प्राप्त हुनेबित्तिकै हामी सार्वजनिक गरेर कारबाही प्रक्रियामा जानेछौँ ।

प्रहरी आक्रामक भएकै हो : एसएसपी उत्तमराज सुवेदी
प्रहरी प्रवक्ता
तराईमा केही समूह सक्रिय हुन थालेपछि उनीहरूलाई निस्तेज बनाउन प्रहरी केही आक्रामक भएकै हो । केही दिनअघि सप्तरीमा प्रहरीमाथि नै गोली चल्यो । ती व्यक्तिलाई खोज्ने क्रममा बुधबार बिहान मुठभेड भयो । अन्य जिल्लामा केही व्यक्ति सक्रिय हुन थालेपछि प्रहरीले उनीहरूका आपराधिक सञ्जाल ध्वस्त बनाउने अभियान अघि बढाएको हो । चर्चा र काम देखाउन होइन, समाजलाई शान्त र सुरक्षित बनाउन यो रणनीति लिइएको हो ।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार  ३ : १२ बजे