मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलबाट गर्जियो तरुण दल, अधिनायकवादी ओली सरकार धेरै दिन नटिक्ने उदघोष्



बुटवल माघ, १२–
प्रदेशैपिच्छै सरकारविरुद्ध प्रदर्शन गर्दै आएको कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले आज प्रदेश नम्बर ५ को राजधानी बुटवलमा प्रदर्शन गरेको छ । शुक्रबार मात्रै प्रतिपक्षीको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट बहुमतले पारित भएको अर्को दिन तरुण दलले बुटवलमा सरकारविरुद्ध भव्य प्रदर्शन गरेको हो । प्रदर्शनको अघिल्लो दिन साँझ बुटवलका मुख्य सडक र चोकमा तरुण दलले राँके जुलुस समेत प्रदर्शन गरेको थियो । आज प्रदेश ५ का सबै जिल्लाका तरुण नेतासहित बुटवलको चौराहामा विरोध सभा गरेको हो ।
बुटवलको ट्राफिक चोकबाट सुरु भएको विरोध र्‍याली चौराहामा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले सरकार अधिनायकवादी बनेको र प्रतिपक्षको आवाजलाई दबाउन खोजेको आरोप लगाए ।
उनले देशभरका तरुणहरु रहरले नभई बाध्यताले सडकमा उत्रिनुपरेको बताए । बलात्कारीको संरक्षण गर्ने, भ्रष्टाचारी जन्माउने र महंगीको मारमा नेपाली जनतालाई पिल्साउने सरकार अब धेरै दिन नटिक्ने उनको दाबी थियो ।


त्यस्तै, रूपन्देही तरुण दलको नेतृत्वमा बुटवलमा भएको विरोध सभामा प्रदेश ५ का अधिकांश जिल्लाका जिल्ला नेता सहभागी भएका थिए । रुपन्देहीका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङले कम्युनिष्ट सरकारको विरुद्धमा दैनिक विरोधका कार्यक्रम सञ्चालन गर्ने बताए ।

बाँकेको सुशिल कोइराला क्यान्सर अस्पताल र तनहुँको जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई संघ मातहत नराखेपछि आक्रोशित बनेको कांग्रेसले विधेयक पारित भएसँगै देशभर विरोध सुरु गरेको हो । यसअघि प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हटौंडा र ४ को पोखरामा तरुण दलले सरकार विरोधी प्रदर्शन गरिसकेको छ ।

नेपाली कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले सरकारले विधेयक पारित गरेको दिन माघ ११ लाई कांग्रेसले कालो दिनको रुपमा मनाउने बताए ।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार  २ : ०५ बजे