सरकारविरुद्ध सडक र सदन तताउदै कांग्रेस, यस्तो छ तयारी



काठमाडौं माघ, १३–प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारविरोधी अभियान थाल्ने भएको छ । आफ्नो असहमति हुँदाहुँदै शुक्रबार चिकित्सा विधेयक पारित गरिएको, प्रमुख प्रतिपक्षी दलका नेताविना संवैधानिक निकायमा प्रमुखको नियुक्तिका लागि सिफारिस गरेकोसहितका विषय उठाउँदै कांग्रेस सरकारविरुद्ध आन्दोलित भएको छ ।

आइतबार बस्ने केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने विषयमा निर्णय लिने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ‘विपक्षी दल संसद् भवनमा बेलमा जान पाउँछन्, तर सरकारले दुईतिहाइको बलमा संसद्मा बलमिच्याइँ गराएको छ,’ महतले भने, ‘अहिले बलमिच्याइँ नगर्नुस्, प्रधानमन्त्री स्वदेश फर्किएपछि हाम्रो मागमा निर्णय गरेर संसद् सुचारु गरौँ भन्दा पनि मान्नुभएन । यसैले अब हामी सरकारविरोधी गतिलाई बढाउँछौँ ।’

नेविसंघमा के हुन्छ ?

कांंग्रेस बैठकको अर्को महत्वपूर्ण एजेन्डा नेविसंघ पनि हो । २ माघसम्म १२औँ महाधिवेशन गर्न नसकेपछि थप गरिएको पाँच महिनाको समय पनि सकिसकेको छ । समय सकिसकेको नैनसिंह महरको नेतृत्वको यही समितिलाई अब हुने स्ववियु निर्वाचन र महाधिवेशन गर्ने जिम्मा दिने वा यसको समय नथपेर अर्को तदर्थ समिति बनाउने भन्ने विकल्प मात्रै बाँकी छन् । समय नथपे महर नेतृत्वको कार्यसमिति स्वतः भंग हुनेछ । यस्तोमा नयाँ कार्यसमिति चयन गर्नुपर्ने हुन्छ । सहमहामन्त्री महत अहिलेकै कार्यसमितिको पुनः समय थप्ने वा अर्को कार्यसमिति बनाउने भन्ने दुवै विचार उत्तिकै आएको बताउँछन् ।

विधानसहितको विषय टुंग्याइने

महासमितिबाट पारित विधान, राजनीतिक, सांगठनिक, आर्थिकसहितका प्रस्तावमाथि आएका सुझाबलाई समेट्दै केन्द्रीय समितिबाट यी सबै प्रस्तावको टुंगो लाग्ने जानकारी उनले दिए । नियमित दुईदेखि तीन दिन बस्ने बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न दिएपछि यी प्रस्तावको अन्तिम टुंगो लगाउने जानकारी महतले दिए । केन्द्रीय सदस्यलाई पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर आउन दबाब परेको छ ।

प्रकाशित मिति : माघ १३, २०७५ आईतबार  २ : ३१ बजे