काठमाडौं माघ, १४–
प्रमख प्रतिपक्षी कांग्रेसले सरकारविरुद्धको प्रदर्शनलाई तिव्र बनाएको छ संसदमा विरोध हुँदाहुँदै पनि सतारूढ दलले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि कांग्रेसका भ्रातृसंगठन आन्दोलित भएका हुन् ।
आइतबार बिहानै काठमाडौंका विभिन्न क्याम्पसअघि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी ओलीको पुतला जलाएको छ। आइतबार दिउँसो नेपाल महिला संघको अगुवाइमा तरुण दल र नेविसंघसमेतको सहभागितामा माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको थियो। तरुण दलको केन्द्रीय नेतृत्वले सबै प्रदेश सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन जारी राखेको छ।
आइतबार सुर्खेतमा प्रदर्शन गरेको तरुण दलले सोमबार धनगढीमा प्रदर्शन गर्दै छ। गएको शुक्रबार प्रतिनिधिसभाको बैठकले शिक्षा विधेयक पारित भएपछि काठमाडौंमा नेविसंघको प्रदर्शन सुरु भएको हो। त्यसपछि जिल्लाहरूमा समेत विरोध तीव्र पारिएको छ। झापालगायत जिल्लामा आइतबार प्रदर्शन भए।
सत्तापक्षले बलमिच्याइँका आधारमा विधेयक पारित गरेपछि कांग्रेसले आन्दोलनलाई थप कडाइ पार्दै देशव्यापी बनाउने घोषणा गरेको थियो। आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले माघ २१ मा ७७ ओटै जिल्लामा पार्टीका तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। ‘त्यस दिन पार्टीको केन्द्रीय समितिको निर्देशनअनुसारको विरोध प्रदर्शन हुने कांग्रेसले बताएको भ्रातृसंगठनहरूले जारी राखेको प्रदर्शन उनीहरूको आफ्नो निर्णयअनुसार अघि बढ्ने समेत कांग्रेसले प्रष्ट पारेको छ ।
बैठकले चिकित्सा शिक्षा विधेयक र संवैधानिक परिषद्ले गरेका निर्णय सच्याउन पनि सरकारसँग माग गरेको छ। राष्ट्रियसभामा टेबल हुन लागेको चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गरेर अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्नेमा कांग्रेसको जोड छ। कांग्रेसले राष्ट्रियसभामा समेत त्यसको विरोध गर्ने जनाएको छ।
यसअघि शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको आकस्मिक बैठकले स्थापित लोकतान्त्रिक मूल्यमान्यताविपरीत सभामुख र सरकारले संसद्लाई लाचारको छाया बनाएको आरोप लगाएको छ। संसदीय दलको बैठकलगत्तै पार्टीको तर्फबाट प्रवक्ता शर्माले पनि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर देशव्यापी विरोधमा उत्रिन समर्थक तथा शुभेच्छुकसँग आग्रह गरेका थिए।
काठमाडौंमा आइतबार भएको प्रदर्शनमा कांग्रेसको चार दर्जन विद्यार्थी नेता पक्राउ परेका छन्। नेविसंघकै एउटा समुहले आइतबारदेखि काठमाडौंमा सरकारी गाडीमा ‘माफिया सरकार मुर्दावाद’ भनेर लेख्न थालेका छन्। तरुण दलले सोमबार प्रदेश स्तरीय विरोध कार्यक्रम सकिएपछि पुनः थप विरोधका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले जानकारी दिए।
कांग्रेसले पछिल्लो समयमा पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा सञ्चालित अस्पताल सरकारले विघटन गर्न लागेको, अनशनरत डा. केसीसँग यसअघि भएको सम्झौताअनुसार शिक्षा विधेयक नभएकोलगायत असन्तुष्टिसहित सरकारको विरोध गर्दै आएको छ ।