काठमाडौं माघ, १४–
गोविन्द केसीको माग पूरा गर्न माग गर्दै नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरू सामूहिक अनसनमा बसेका छन्। गत पुस २५ गतेदेखि चिकित्सा शिक्षा सुधारको माग राखेर डा. केसी १६ औं पटक आमरण अनसनमा बसेका छन् ।
सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा चिकित्सकहरूले सामूहिक रिले अनसन सुरू गरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी गराए ।
चिकित्सक संघले सरकारले केसीले राखेका मागहरू पूरा नगरेसम्म हरेक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रिले अनसन गर्ने घोषणा गरेका थिए।
चिकित्सक संघले केसीका माग पूरा गर्न तीन दिने अल्टिमेटम दिएर वार्ता समिति बनाउन आग्रह गरे पनि सरकारले वार्ता समिति बनाएको छैन। केसीले राखेका माग समेटेर चिकित्सा शिक्षा विधेयक संशोधन गर्न चिकित्सकहरूले माग गरेका छन्।
जिल्लाहरूमा पनि चिकित्सकहरूले जिल्ला अस्पताल बाहिर सामूहिक रिले अनसन सुरू गर्दै छन्।