यी हुन् कांग्रेसका सरकारविरुद्ध देशव्यापी विरोधका कार्यक्रम, वाइडबडी प्रकरणमा गम्भिर अनुसन्धानको माग



काठमाडौं माघ, १६–
नेपाली कांग्रेसले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टचार घोटालाबारे गम्भीर छानबीन गर्न सरकारसँग माग गरेको छ । बुधबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन आयोजना गरी माघ २१ को देशव्यापी विरोध प्रदर्शन मार्फत यो बिषयमा कांग्रेसले थप दबाब सृजना गर्ने दाबी गरे ।
देश आफैले निर्माण गर्नु उपयुक्त हुने र सक्ने वुढीगण्डकी जलविद्युत आयोजनाविना प्रतिस्पर्धा विदेशी कम्पनीलाई दिइएकोबारे पनि कांग्रेसको आपत्ति रहेको प्रवक्ता शर्माको भनाइ थियो ।
निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा ढिलासुस्ती, ३३ किलो सुन काण्ड, प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा भएको भनिएको अनियमितताको बारे पनि गम्भीर ढंगले छानबिन हुनुपर्नेमा शर्माले जोड दिए ।

संघीयता कार्यान्वयनका बाँकी कार्यभार पुरा गर्न भइरहेको ढिलाईले समग्र सत्ताको नियतमाथि नै गम्भीर प्रश्न खडा भएको ठहर गर्दै काँग्रेसले कम्युनिष्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङ्ती प्रधामन्त्रीमा जोरहेको आरोप लगाएको छ ।

काँग्रेसले माघ २१ गतेको देशव्यापी प्रदर्शन गर्नुको विभिन्न ६ कारण समेत दिएको छ ।

जसमा गोविन्द केसीको मुद्दा, संवैधानिक परिषदमा गरिएको नियुक्ति, देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध, महंगी, भ्रष्टाचार एवं अनेकौं सरकारले गरेका विभिन्न निर्णयहरु रहेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  १० : २६ बजे