पोखरा माघ, १८–
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीको मागप्रति सरकार गम्भिर नदेखिएको आरोप लगाएका छन् । नेता शर्माले डा. केसीलाई अनसन त्याग्न आग्रह गर्दै अब केसीको मुद्दा कांग्रेसले बोक्ने प्रष्ट पारे ।
शुक्रबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता शर्माले भने,‘यो सरकार तपाईंका मागप्रति गम्भीर देखिएन, तपाईं अनसन तोड्नुस तपाईंका मुद्दा बोकेर हामी लड्छौं।’
प्रवक्ता शर्माले अनसन बसेको २३ दिन पुग्दै गर्दा डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गरे पनि सरकार जिम्मेबार रुपमा प्रस्तुत नभएको आरोप लगाउँदै केसीले उठाएका मागलाई अब कांग्रेसले बोकेर अघि बढ्ने उदघोष् समेत गरे ।
डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि गरेका सम्झौता तोड्दै राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरेकोप्रति उनले आपत्ति प्रकट गरे।
एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने दफामा पनि डाक्टर केसीसँगको सम्झौता भए पनि त्यसमा समेत कुनै सुनुवाई नभएको उनको भनाइ थियो। प्रवक्ता शर्माले भने, ‘२०४६ अघि २ मेडिकल कलेज भएको देशमा अहिले २ दर्जन पुगेका छन्, राजधानी काठमाडांैमा मेडिकल कलेज आवश्यक छैन।’
डा। गोविन्द केसीका माग वर्तमान सरकारले सम्वोधन नगरे पनि पछि कांग्रेसको वहुमत आउँदाको बखत ती माग सम्बोधन गर्न कांग्रेस तयार रहेको उनको भनाइ थियो। २०४७ पछि बनेको कांग्रेस सरकारले स्वाथ्य क्षेत्रको बचत ३५ अर्ब रुपैयाँ मेडिकल कलेजमा लगानी नगरी गाउँगाउँमा स्वास्थ्य चौकी विस्तार गर्न खर्चेको स्मरण उनले गरे।
५ वर्षको लागि निर्वाचितकेपी शर्मा नेतृत्व सरकारले १ वर्षमा एउटा पनि जनपक्षीय काम गर्न नसकेको बर उल्टै अनियमितता बढेको, शान्ति सुरक्षा खलबलिएको, हत्या, हिंसा, बलात्बार बढेको आरोप उनको थियो।