काठमाडौं–
सोलुखुम्बुमा तत्कालिन माओवादीका जिल्ला सदस्य एवम् नेकपाका नेता ढलबहादुर मगरसहित करिब १ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको छ । माप्य दुधकोशी गाउँपालिकाको बासा दाम्कुमा आयोजित बृहत आमसभाबीच विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता तथा कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् ।
शनिबार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको दाम्कुमा आयोजित बृहत आमसभामा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । उक्त पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेकपा नेतृत्वको सरकार दुई तिहाईको दम्भ बोकेर एकलौटी रुपमा अघि बढेको बताए । नेता थापाले वर्तमान सरकार एकपछि अर्को भ्रष्टाचारमा डुब्दै गएको भन्दै सरकारको चर्को आलोचना समेत गरे । उनले भने, ‘यो सरकारसँग को खुसी छ ? कोही छैन ।’ प्रधानमन्त्री संसदमा बोल्दै गर्दा नेकपाकै सांसदलाई टेबल ठोक्न लाज लागेको दृष्यले सरकारले कस्तो काम गर्दैछ भन्ने कुरा प्रष्ट भएको थापाको भनाइ थियो ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गर्नु, निर्मला पन्त बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्नु लगायतका कारण सरकार जनमूखि निर्णयबाट भाग्दै गरेको अनुभूति जनताले गर्न थालेको नेता थापाको भनाइ थियो ।
कांग्रेस गरिब भएर जनतालाई धनी बनाउन चाहने पार्टी भएको नेता थापाले प्रष्ट पारे । उनले पार्टीले नेता तथा कार्यकर्तालाई मिलाएर लैजाने कुरामा कुनै शंका नगर्न आग्रह गर्दै अर्को निर्वाचनमा सोलुखुम्बु जिल्लाका आठ वटै स्थानीय तहमा विजयी हुने किसिमले गतिविधि सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन पनि दिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले जनप्रतिनिधिकै संलग्नतामा स्थानीय तहमा भष्ट्राचार मौलाएको बताए । स्थानीय तहमा मौलाएको गलत प्रवृत्तिको रुपमा पार्टी र भातृसंस्थाहरुलाई विरोध र दबाबका कार्यक्रम संचालन गर्न समेत नेता केसीले कार्यकर्तालाई निर्देशन दिए ।
त्यस्तै, उक्त आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले सरकार लगानी मैत्री नभएको आरोप लगाए । उनले वर्तमान सरकार उदार अर्थतन्त्रको विरोधमा देखिएको समेत दाबी गरे । नेकपाका नेताहरुले चुनावका बेला जनतासामु गरेका बाचा भुलेर उल्टो दिशातिर हिँडिरहेको नेता कार्कीको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै सोलुखुम्बु कांग्रेसका सभापति विनोद बस्नेतले जनप्रतिनिधिहरु विकासको नाममा ठेकेदार भएको बताए । उनले आफूहरुले ईमान्दारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने र खबरदारी गर्ने स्पष्ट पारे ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलङबु शेर्पा, भोजराज कार्की, पर्यटन व्यवसायीसमेत रहनुभएका आङछिरिङ शेर्पा, चोलेन्द्र बहादुर कार्की, नविन कार्कीका साथै विभिन्न तहका नेताहरुले सम्बोधन गरेका थिए ।