काठमाडौं माघ, २५–
कारबाहीमा परेको प्रहरी निरीक्षकलाई आकर्षक ठाउँमा पोस्टिङ दिएको रहस्य बाहिरिएको छ । प्रहरी प्रधान कार्यालयले धनुषास्थित इलाका प्रहरी कार्यालय, सखुवा, महेन्द्रनगरमा नसियत पाएका प्रहरी निरीक्षक अरुण कुशवाहलाई इञ्चार्जको जिम्मेवारी दिइएको हो ।
कुशवाहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको जोडबलमा मकवानपुरको औद्योगिक क्षेत्र पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयको इञ्चार्ज बनाईएको हो ।
महेन्द्रनगरमा रहँदा कुशवाहले ११ मंसिरमा नसियत पाएका थिए । जिल्लाबाट अनुगमनमा खटिएको टोलीसँग दुर्व्यवहार र सही ढंगले कार्यसम्पादन नगरेको आरोपमा उनीमाथि कारबाही भएको थियो ।
संगठनको आचरण र मर्यादा विपरित काम गरेको आरोपमा नसियत दिइएलगत्तै उनलाई काजमा जिल्ला प्रहरी कार्यालय, ओखलढुंगा पठाइएको थियो । तर, उनी अटेर गरेर प्रहरी मुख्यालयमै हाजिर गरेर बसे । अहिले मकवापुरको इप्रकाको नेतृत्व पाएका छन् ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एक उच्च अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै केही साताअघि उनलाई त्यहाँ प्रहरी प्रधान कार्यालयले खटाएको पुष्टि गरे । ती अधिकारीका अनुसार पशुपतिनगरका पूर्वप्रमुखले अनिवार्य अवकाश पाएपछि त्यहाँको दरबन्दी खाली थियो ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने पशुपतिनगर प्रहरी निरीक्षकलाई पुरस्कृत गर्ने खाल्को पोस्टिङ नभएको दाबी गरे ।