डा.केसीविरुद्ध विषवमन गरेर श्रीमतीलाई ठाउँमा पुर्याएको गुन तिरे योगेशले



काठमाडौं माघ, २८–
योगेश भट्टराई, नेकपाका युवा नेता । यिनले यसपटक डा.गोविन्द केसीको सत्याग्रहविरुद्ध विषवमन गरेर युवा जोश देखाए । त्यो जोशले देशलाई होइन मेडिकल माफियालाई सहज बनायो । मार्सी चामलको भात खाएको गुन केपी ओली र प्रचण्डले तिर्दा पुग्ने थियो । तर यिनले पनि त्यसै गरे । खासमा यस्तो गरी किन यिनी प्रस्तुत भए भन्ने खोज्दै जाँदा यिनले त आफ्नी पत्नीलाई नर्सिङ काउन्सिलमा लगेको गुन तिर्न पो यस्तो रवैया अपनाएका रहेछन् ।
नर्सिङ कलेजहरुको नियमन गर्ने निकाय नेपाल नर्सिङ परिषदमा नेकपाका सांसद योगेश भट्टराईकी श्रीमतीले नियुक्त पाएको थाहा भएको छ । भट्टराईकी श्रीमती बिन्दा घिमिरे छ महिनाअघि परिषदको रजिष्ट्रार बनेकी हुन् ।
चिकित्सा शिक्षाका नर्सिङ कार्यक्रममा विकृति फस्टाइरहेका बेला विश्वविद्यालय र नर्सिङ परिषदमा सत्तारुढ दलका प्रभावशाली नेताहरुका नातेदार नियुक्त भएका छन् ।
सिटिइभिटी तथा विश्वविद्यालयका कार्यक्रममा सबैभन्दा बढी विकृति मौलाएको संस्था पूर्वाञ्चल विश्वविद्यालय र नर्सिङ परिषद हो । परिषदमा पन्ध्र सदस्यीय बोर्ड गठन हुने गरेको छ । यो सबै राजनीतिक नियुक्ति हो । परिषदमा अध्यक्ष, उपाध्यक्ष, विज्ञ नर्स, नर्सिङ डाइरेक्टर, रजिष्ट्रार, उपभोक्ता मञ्चबाट, क्याम्पस प्रमुखबाट दुई जना, नर्सिङ संघ अध्यक्ष पदेन सदस्य, सदस्यमध्येबाट चुनाव गरेर तीन जना, सिटिइभिटीबाट एक जना, क्षेत्रीयबाट एक जना र स्वास्थ्य सेवा विभागबाट नियुक्ति हुने व्यवस्था छ ।
भट्टराईकी श्रीमती स्वास्थ्य सेवा विभागका महानिर्देशकको सिफारिसमा चार वर्षअघि परिषद सदस्य बनेकी थिइन् । यो कार्यकाल नसकिँदै उनी छ महिना अघि रजिष्ट्रार नियुक्त भएकी हुन् । परिषद भन्दाअघि उनी त्रिवि शिक्षण अस्पतालमा नर्स थिइन् ।
२०७१ सालमा खगराज अधिकारी हुँदा उनी परिषद सदस्य सिफारिस भएकी थिइन् । परिषद विश्वविद्यालय तथा सिटिइभिटीका नर्सिङ कलेजको कार्यक्रमको सिट निर्धारण गर्ने संस्था हो । यही परिषद मातहत सिटिइभिटीका १८९ कलेज छन् । यीमध्ये ६० वटा कलेज परिषदको बिनामापदण्ड चलेका छन् । ८४ वटा कलेजको मापदण्ड पुगेको छैन ।
सिटिइभिटी वा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नर्सिङ कलेजहरूको नियामक निकाय परिषदले भने त्यस्ता कलेजलाई कारबाही हैन, आंशिक अनुमति दिइरहेको छ । परिषदको मापदण्ड अनुसार प्रमाणपत्र तह वा स्नातक जुनसुकै कार्यक्रम सञ्चालन गर्न कलेजले अनिवार्य रुपमा आफ्नो अस्पताल चलाउनुपर्छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ३५ वटा नर्सिङ कलेज छन, अधिकांशको आफ्नै अस्पताल छैन । २१ वटाको आफ्नो अस्पताल छैन । ९ वटा कलेजको अस्पताल छ, तर मापदण्ड पालना भएको छैन ।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ७ : ०३ बजे