काठमाडौं माघ, २८–
कार्यसमितिको म्याद सकिएको झण्डै ६ महिनासम्म पनि महाधिवेशन गराउन नसकेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवा समक्ष अध्यक्ष महरले राजीनामा बुझाएका हुन् ।
नेपाली कांग्रेसले कार्यसमितिको म्याद थप्दै जाँदा ६ महिनासम्म पनि महर नेतृत्वको कार्यसमितिले महाधिवेशन गराउन सकेको थिएन । कांग्रेस कार्यसमितिको बैठकबाट वर्तमान कार्यसमितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा विवाद चलिरहेका बेला अध्यक्ष महरले सोमबार राजीनामा दिएका हुन् ।
उनले आफूले स्ववियू निर्वाचन गर्ने अर्जुन दृष्टि राखेको भएपनि पार्टी भित्र कार्यसमितिको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रीय समितिमा नै मत मतान्तर रहेपछि राजीनामा दिएको प्रष्ट पारेका छन् । पार्टी एक ढिक्का भएर सर्वसत्तावाद विरुद्ध लड्नु पर्ने समयमा नेविसंघको विवादमा पार्टी विभाजित हुने र यही विषयमा केन्द्रीत हुने काम नहोस् भन्नको लागि आफूले राजीनामा दिएको अध्यक्ष महरको राजीनामामा उल्लेख छ ।
राजीनामा पत्रमा महरले नेपाल र भारतको सीमा बीरगञ्जको छपकैयामा सीमा मिचिएको विरोधमा दशगजा क्षेत्रमा नेविसंघले गरेको ठूलो प्रदर्शन, हरेक वर्ष नेविसंघको तर्फबाट संयुक्त राष्ट्रसंघ युथ एसेब्लीमा विधिवत सहभागिताको व्यवस्था, २० वर्ष पछि सोसलिष्ट इन्टरनेशनल अफ युथको उपाध्यक्षमा नेविसंघको विजयसँगै नेविसंघको ६ लाख ५० हजार जना सदस्यता वितरण गरिनु नै आफ्नो कार्यकालको महत्वपूर्ण उपल्बधी भनी उल्लेख गरेका छन् ।