कांग्रेसद्वारा नेविसंघको कार्यसमिति भंग, यसअघि गरिएका सबै मनोनयन समेत बदर गर्ने निर्णय



काठमाडौं माघ, २९–
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति भंग गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो । यससँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ ।
कांग्रेसले बिभिन्न मितिमा गरिएका मनोनयन नेपाली कांग्रेस केन्द्रीय समितिले खारेज गरिदिएको छ । अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरुबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल विद्यार्थी संघको सभापति पदमा रही गरेको कार्यका लागि नैनसिंह महर तथा समयावधि समाप्त भइसकेको उनको नेतृत्वको केन्द्रीय समितिलाई धन्यवाद ज्ञापन गरेको छ ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, एन.पी. साउँद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले आ–आफ्नो धारणा राखेका थिए । कांग्रेसको अर्को बैठक फागुन १ गते दिउँसो १ वजे पार्टीको कार्यालयमा बस्नेभएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  २ : ३० बजे