काठमाडौं फागुन, २–प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षकको दिक्षान्त कार्यक्रममा बोल्दै ‘प्रहरीमा अब दलाली गर्ने दिन गए, भनसुन चल्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
तर, प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति विपरित उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे भने प्रहरीमा ठिक उल्टो काम गर्न लागि परेका छन् ।
उपप्रधानमन्त्री पोखरेल र अख्तियारका प्रमुख आयुक्त घिमिरेको दबाबमा गृह मन्त्रालयले नेपाल प्रहरीमा दुई डीआईजीको पद थप्ने तयारी गरेसँगै प्रधानमन्त्रीलाई नै चुनौती दिएर प्रहरीमा सिस्टम नै विगारेर विकृति बढाउन लागिएको मन्त्रालय स्रोतले बतायो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा प्रहरीमा १६ जना एआईजीको दरबन्दी रहेकोमा ओली प्रधानमन्त्री बनेपछि आर्थिक व्ययभार बढेको भन्दै घटाएर ३ मा झारिएको थियो ।
तर, अहिले १ डिआईजी पद खाली रहेकोमा दरबन्दी थप गरी ३ वटा बनाउन लागिएको छ । जुनियर एसएसपी विश्वराज पोखरेललाई डिआईजी बनाउनका लागि प्रमुख आयुक्त घिमिरे र मन्त्री पोखरेलले तारन्तार दबाब दिन थालेपछि गृह सचिव प्रेमकुमार राई समेत आजित बनेका छन् ।
केही दिन अघि बसेको बढुवा समितिको बैठकले सिनियर एसएसपी विरेन्द्र श्रेष्ठलाई डिआईजीमा बढुवा सिफारिस गर्न खोज्दा चलखेल बढेका कारण बढुवा प्रक्रिया नै रोकिएको छ ।
तर, मन्त्री पोखरेलको चाहना अनुसार विशेष पद सृजना गरी एसएसपी विश्वराजलाई बढुवा गर्न ठूलो चलखेल भएको छ । कार्तिक १० गते काभ्रेको मण्डन देउपुर नगरपालिका–६ मा जीप दुर्घटनामा परेर डीआईजी सुशील भण्डारीको मृत्यु भएपछि उक्त पद अहिले खाली रहेको छ ।
भण्डारीको स्थानमा आईजीपी सर्वेन्द्र खनालसँगै सेवा प्रवेश गरेका श्रेष्ठलाई बढुवा गर्ने तयारी भएको थियो । तर, मन्त्री पोखरेल र घिमिरेले विश्वराजलाई बढुवा गर्नुपर्ने भन्दै अहिले पनि विशेष पद सिर्जना गर्नेगरी प्रस्ताव तयार गर्न गृह–सचिव राइलाई निरन्तर दबाब दिइरहेको राई निकट स्रोतले बतायो ।
त्यसो त, एसएसपी पोखरेल भन्दा आधा दर्जन बढी सिनियर एसएसपीहरु बढुवा हुन नपाएर बसेका छन् । पोखरेल भन्दा सिनियर एसएसपीहरु विरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, बसन्त पन्त, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, गणेश ऐरलगायत छन् ।
उनीहरु २०४७ असार २५ मा सेवा प्रवेश गरेका हुन् । उनीहरु डिआईजीद्धय हरी पाल र शैलेश थापाका व्याजी हुन् । तर, पोखरेल भने २०४९ चैत ११ मा सेवा प्रवेश गरेका हुन् ।
पोखरेलका व्याजमा उनी भन्दा क्षमतावान एसएसपीहरु पनि छन् । एसएसपी धिरजप्रताप सिंह, उत्तम सुवेदी र रविन्द्र धानुकहरु पनि डिआईजीका आकांक्षी हुन् । पोखरेल भन्दा सिंह, सुवेदी र धानुक कार्यक्षमताका हिसावले अब्बल मानिन्छन् ।
तर, एक त जुनियर त्यसमाथि पनि कमाण्ड क्षमतामा कमजोर मानिएका पोखरेलले एकएक शक्तिकेन्द्र मार्फत बढुवामा चलखेल गरेका कारण प्रहरीमा ठूलो विवाद उत्पन्न भएको छ ।
पोखरेललाई बढुवा दिंदा सिस्टम नै विग्रने र सँगैका व्याजीको करिअरमा ठूलो असर पर्ने हुँदा आईजीपी सर्वेन्द्र खनाल र गृहसचिव राई त्यसको विपक्षमा रहेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि प्रहरीमा सिस्टम विगार्ने पक्षमा छैनन् । तर, पोखरेलको चलखेल भने एकाएक बढिरहेको छ ।