मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अलमलमा नेकपाको एकिकरण प्रक्रिया, भदौदेखि अभियान चलाउने सचिवालयको निर्णय अलपत्र



काठमाडौं फागुन, ५–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय अभियानको योजना ६ महिनादेखि अलपत्र परेको छ । असार र साउनभित्र एकीकरणका सबै काम टुंग्याएर भदौदेखि अभियान चलाउने छलफल केन्द्रीय सचिवालयमै भए पनि अलपत्र परेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दसैँको सम्मुखमा कार्यकर्ता घर फर्किने भएकाले एकीकरणको सन्देश दिन उपयुक्त हुने भन्दै पार्टीले योजना बनाएको थियो । तर, एकीकरण प्रक्रिया नै धकेलिएपछि अन्य योजना ओझेलमा परेका छन् ।

३ जेठमा पार्टी एकतापछि सबै तहमा एकीकरण टुंग्याउन चार तहको कार्यदल बनिसकेको छ । एकीकरणमा ढिलाइ भएपछि १२ पुसमा सम्पन्न स्थायी समिति बैठकमा नेतृत्वको आलोचना भएको थियो । आलोचना मत्थर पार्दै बैठकले माघ महिनाभित्रै एकीकरण सक्ने गरी ९ सदस्यीय कार्यदल बनाए पनि काम गर्न सकेन । संयोजक रामबहादुर थापा बादलले अपूरो प्रतिवेदन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

नेकपाको केन्द्रीय कमिटी बैठक नबसेको त ९ महिना भइसक्यो । पार्टीको अन्तरिम विधानमा ६ महिनाभित्र केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था भए पनि एकतायता औपचारिक बैठक बस्न सकेको छैन । एकीकरणलगत्तै १० जेठमा माइन्युटमा हस्ताक्षर गर्ने प्रयोजनका लागि केन्द्रीय कमिटी बैठक बोलाइए पनि केन्द्रीय सदस्यहरूले प्रस्तावित एजेन्डामा छलफलमा भाग लिन पाएका छैनन् ।

‘हामीले पार्टीलाई विधिसम्मत तरिकाले सञ्चालन गर्नुपर्ने मागसहित ध्यानाकर्षणपत्रसमेत बुझाएका थियौँ,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘बैठकमा त यसै ढिलाइ भएकै छ, एकीकरणको काममा ढिलाइ गरेर आम नेताकार्यकर्तालाई निराश पार्ने गरी पार्टीलाई, नेतृत्वलाई महाशिथिलीकरणको दिशामा धकेलेको छ ।’ नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालय छ ।

पार्टी धेरै पछाडि परिसक्यो स् झलनाथ खनाल, वरिष्ठ नेता

एकीकरणका काम सक्न भएको ढिलाइले पार्टी लथालिंग भएको छ । सांगठनिक एकीकरणमा भइरहेको ढिलाइले राष्ट्रिय अभियान पछाडि धकेलिएको छ, पार्टी नै पूरै पछाडि भइसक्यो । अब एकता कार्यदलको रिपोर्ट हेरेर सचिवालयमा एकीकरण र अभियानको टुंगो लगाउँछौँ ।

ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको छ । ९ सदस्यीय कार्यदलको प्रतिवेदन, एकीकरणमा भइरहेको ढिलाइ र सचिवालयको बैठकको तयारीमा केन्द्रित रहेर दुई अध्यक्षबीच शनिबार छलफल भएको बालुवाटार स्रोतले बतायो । छलफलपछि सोमबारसम्म सचिवालय बैठक बोलाएर एकीकरणको काम टुंग्याउने र स्थायी समितिमा प्रस्ताव लैजाने समझदारी भएको स्रोतको भनाइ छ ।

‘अबको बैठकबाट एकीकरणको सबै काम टुंगो लाग्छ, त्यसअनुसार नै दुई अध्यक्षले गृहकार्य गरिरहनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सोमबारसम्म सचिवालय बैठक बोलाएर स्थायी समितिमा एकीकरणको प्रस्ताव लगिनेछ ।’ स्थायी समितिको पछिल्लो बैठकले माघभित्र एकीकरणसम्बन्धी सबै काम टुंगो लगाएर फागुन र चैतमा देशव्यापी राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, कार्यदलले काम गर्न नसकेपछि माघमा स्थायी समिति र केन्द्रीय कमिटी बैठक डाकिएन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  २ : ०४ बजे