काठमाडौं फागुन, ५–देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ । कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ । यही बाटो भएर बिरामी र बिरामीका आफन्त इमर्जेन्सी, एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने गर्छन् । बाटोमा शव देख्दा केटाकेटी र बिरामी तर्सिने गरेको चिकित्सकहरू बताउँछन् । यो अवस्थाले बिरामीमा मानसिक र शारीरिक समस्या आउन सक्ने उनीहरू बताउँछन् ।
अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले बिरामी र शव एकै ठाउँ राख्नु बाध्यता भएको बताए । ‘अहिले वीरमा शव राख्ने ठाउँ छैन । आफन्तले नलगुन्जेल ढोकाछेउमा पर्दाले छोपेर राख्नेबाहेक अरू काम गर्न सकिँदैन । शवलाई बिरामी राख्ने बेडमा सँगै राख्न मिल्दैन । दिनहँु बिरामी र आफन्तको गुनासो आएको छ । तर, समाधान गर्न सक्ने तत्काल अवस्था छैन,’ डा. श्रेष्ठले भने । लामो समय शव राख्नुपर्ने अवस्था आए फरेन्सिक मेडिसिन विभाग महाराजगन्ज र पशुपति आर्यघाटमा रहेको फ्रिजमा लैजाने गरेको उनले बताए ।
सरकारले नीति तथा कार्यक्रममै समेटेको औषधिमा आत्मनिर्भर बन्ने योजना कागजमै सीमित बनेको छ । पहिलो चरणमा ३० प्रकारका औषधि आयातमा प्रतिबन्ध लगाएर नेपाली औषधि उद्योगहरूको क्षमता मूल्यांकन गर्ने सरकारको योजना थियो । तर, ती औषधिको सूची केही समयअघि मन्त्रिपरिषद्मा पुगे पनि प्रक्रियामा अघि बढेको छैन ।
नेपाल औषधि उत्पादक संघका महासचिव प्रज्वलजंग पाण्डेले औषधिमा आत्मनिर्भर हुन सरकारबाट कुनै ठोस काम अघि नबढेको बताए । ‘सामान्य, तर महत्वपूर्ण ३० प्रकारका औषधिमा आत्मनिर्भर रहेको भन्दै ती औषधि आयातमा प्रतिबन्ध लगाउने सरकारको योजना छ,’ पाण्डेले भने, ‘तर, अहिलेसम्म कुनै काम अघि बढेको छैन । मन्त्रिपरिषद्मा अड्किएको फाइल निर्णय भए ठोस काम अगाडि बढ्नेमा हामी विश्वस्त हुने ठाउँ हुन्थ्यो ।’