तनहुँ फागुन, ६–
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसाउन कम्मर कसेर लागेको आरोप लगाएका छन् । सोमबार तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले ओली सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसाएकाले समृद्धि असंभव भएको बताए । वरिष्ठ नेता पौडेलले भने, ‘ओली जीले सरकारले समृद्धिको जग बसाएको भन्नुभएछ । सरकारले बसाएको जगबाट मुलुक समृद्धिको बाटोमा जान सक्दैन । मुलुक अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टचार र बेथितिको बाटोमा अघि बढेको छ ।’
प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकाल पूरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै समृद्धिको जग बसाएको उल्लेख गरेका थिए ।
पौडेलले काँग्रेस निष्ठाको राजनीति गर्ने पार्टी भएको भन्दै सबै नेता कार्यकर्ताहरु निष्ठावान बन्नुपर्नेमा जोड दिए ।
काँग्रेसले महासमितिबाट पास भएको विधानले अवसर नपाएका कार्यकर्तामाथि न्याय गर्ने नेता पौडेलको भनाइ छ ।
६ फाल्गुन २०७५, सोमबार
0
Shares