काठमाडौं फागुन, १४–
भरतपुर महानगरपालिकामा मेयर र उपमेयरबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । महानगरपालिकाकी उपमेयर पार्वती शाहले रेणु दाहाललाई मेयरमा जिताएर गल्ती भएको महसुस गरेकी छिन् । उनले महानगरपालिकामा अनियमितता बढेको समेत प्रष्ट पारिन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट उपमेयरमा निर्वाचित शाहले भनिन्, ‘उहाँले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रियलाई थाहा छ तर अहिले गल्ती गरियो भन्ने लागेको छ ।’
मेयर रेणुले महानगरपालिकालाई एकलौटी ढंगले चलाउन खोजेको उनको आरोप थियो । उनले भनिन्, ‘दुई वर्षसम्म पनि लेखा समिति गठन भएको छैन, जिन्सी समिति गठन भएको छैन । महानगरपालिकामा अनियमितता बढेको छ ।’ उपमेयर शाहले आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरीय नेताले धम्की दिएको समेत बताईन् । आफूले असुरक्षित महसुस गरेर मेयर रेणुलाई जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नदिएको समेत उनले दुखेसो गरिन् ।
गएको स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट प्रचण्ड पुत्री दाहाल मेयरमा र शाह उपमेयरमा निर्वाचित भएका थिए ।
१४ फाल्गुन २०७५, मंगलबार
0
Shares