कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित, सहमतिमै निर्णय गर्ने प्रयासमा नेताहरु



काठमाडौं फागुन, १४–
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो । निर्वाचन समिति र अनुशासन समिति गठनका लागि बोलाईएको बैठकमा दुवै समिति गठनमा सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले आवश्यक छलफल पश्चात अर्को बैठकको मिति तोकिने गरी आज बोलाइएको बैठक स्थगित गरिएको जानकारी गराए ।
मंगलबार पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल बिच दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन प्रयास गर्ने सहमति भएपछि केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो ।

आइतबार बहुमतको आधारमा विधान पारित भएपछि वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्ष सभापति देउवासँग चिढिएका थिए । दुवै पक्षले सहमतिको आधारमा दुवै समिति गठन नगरे केन्द्रीय कार्य समिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि कांग्रेस केन्द्रीय कार्य समितिको आज बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ ।

शीर्ष तहको बैठकमा सभापति देउवाले निर्वाचन समिति र अनुशासन समिति गठन कार्यलाई सर्वसम्मतिमै टुंग्याउने प्रतिवद्धता जनाएका थिए ।
प्रवक्ता शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रीय कार्य समितिको अर्को बैठक बोलाउने पनि जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १० : ०५ बजे