मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङमा निरन्तर हिमपात, चौँरी मर्न थालेपछि किसान चिन्तित



मनाङ फागुन, १५–
निरन्तरको हिमपातले मनाङमा चौँरी मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

जिल्लामा रहेका कतिपय चौंरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा पति उत्तिकै चौंरी मरेका छन् ।

जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी के–कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन । कति जिउँदै बेपत्ता छन् भने केही मरेको भेटिन थालेका छन् ।

जिल्लाको माथिल्लो भेगमा रहेका चौँरीको त कहाँ कस्तो अवस्थामा छ भन्ने अत्तोपत्तो छैन ।

तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४०० जति चौँरी बेपत्ता भएको र ६० भन्दा बढी मरेको चौँरीपालक सुरेश थकालीले बताए ।
उनका अनुसार नासों गाउँपालिकामा रहेको नाचेगाउँका बलबहादुर गुरुङ र काशीराम गुरुङको गोठबाट २०० चौँरी हराएका छन् । तिनीहरुको खोजीकार्य जारी रहेको छ । त्यस्तै तिमाङको वनमा रहेको पासाङ लामाको ३५ चौँरी तथा तिल्चेको लेकबाट ङिमाओङ्गेल पुनेल र धर्मजङ गुरुङको ६० चौँरीको अवस्था अज्ञात रहेको थकालीले बताए ।

‘एउटा चौंरीको रु एक लाख २० हजारभन्दा बढी मूल्य पर्दछ, केही गरौँला भनी पुख्र्यौली पेशा अँगालेका हौं, खै दैव लागेपछि कसको के लाग्दोरहेछ रु’ स्थानीय धनबहादुर गुरुङले भने ।

चौँरीपालक किसानका अनुसार हिमपातले करोडौँभन्दा बढी नोक्सान पुर्याएको छ । हराएका चौँरीको नामोनिसान भेट्टाउन सकिएको छैन ।

तल्लो मनाङका ताल, नाचे, तिल्चे, ओढार र तिमाङलगायतका ठाउँमा मात्रै ४०० चौँरी हराएका तथा तथा मरेको तथ्याङ्क किसानहरुको छ । माथिल्लो भेगमा त झन् कस्तो छ थाहा छैन । हिउँ पर्न रोकिएपछि मात्र यकिन तथ्याङ्क आउने चौँरीपालक सुरेश थकालीले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : २१ बजे