राजधानीका सडक मगन्तेरहित बनाईने, सरकारद्वारा तयारी सुरु



काठमाडौं फागुन, १८–
देशकै राजधानी काठमाडौंका सडक मगन्ते (भिखारी)रहित बनाइने भएको छ । त्यसका लागि प्रहरीले अभियान सुरु गरेको छ ।

सडकमा हिँड्ने बटुवालाई अनावश्यक दुःख दिने मात्र नभई सहरको सभ्यतामाथि नै प्रश्न उठ्न थालेपछि प्रहरीले मगन्तेलाई पक्राउ गर्न थालेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रहरीले मन्दिर र सडकमा माग्न बसेकालाई पनि हटाउने भएको छ । सडकमा बस्ने मगन्ते लागुऔषध दुव्र्यसनीदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त पहलमा प्रहरीले मगन्ते पक्राउ अभियान सुरु गरेको हो । पहिलो चरणमा न्युरोड, वसन्तपुर, घन्टाघरस्थित जामे मस्जिदलगायतका ठाउँबाट १६ भन्दा धेरै मगन्तेलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अधिकांश बालबालिका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले मगन्ते निषेधित क्षेत्र निर्माण अभियानअन्तर्गत उनीहरू पक्राउ परेको बताए ।

‘भिख माग्न संविधानले नै रोक लगाएको छ । तर, काठमाडौंका मन्दिर तथा सडकपेटीमा अझै पनि मगन्तेको भिड लाग्ने गरेको देखिन्छ । यसबाट पैदलयात्री आजित हुनुका साथै सहरको सभ्यतासमेत बिगारेको छ ।’

प्रहरीका अनुसार काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते छन् । त्यसमध्ये अधिकांश महिला तथा बालबालिका छन् । प्रहरीका अनुसार उनी अधिकांश भारतीय मूलका नागरिक रहेको काठमाडौं परिसरका डिएसपी पोखरेलले बताए । ‘काठमाडौंमा मात्रै चार सयको हाराहारीमा मगन्ते रहेको आकलन छ । उनीहरू अधिकांश भारतबाट आएको देखिन्छ । त्यसमा पनि धेरै बालबालिका र महिला छन्,’ उनले भने ।

प्रहरीका अनुसार काठमाडौंमा संगठित रूपमै भिख माग्ने पेसा अँगाल्ने गरेकोे पाइएको छ । विशेष गरी भातरीय मूलका नागरिक यस कार्यमा संलग्न छन् । यो पेसामा अधिकांश बालबालिका र महिला प्रयोग भएका छन् । प्रहरीका अनुसार उनीहरू भारतमै जम्मा हुन्छन् र समूह बनाउँछन् ।

आवश्यक तालिम पनि लिन्छन् । विभिन्न नाका हुँदै नेपालका सहर प्रवेश गर्छन् । समूहको नाइके अवरणमा देखिँदैन । तर, कसलाई कुन गौँडामा माग्न लगाउने योजना उसैले बनाउँछ । सोही योजनाअनुसार उसले बालबालिकाको स–सानो युनिट बनाउँछ । र, सडकमा परिचालन गर्छ । प्रत्येक युनिटको निगरानी गर्ने र जम्मा भएको रकम संकलन गर्ने जिम्मा सम्बन्धित बालबालिकाका आमालाई दिइन्छ । साँझ परेपछि प्रत्येक सबै युनिटलाई एकै ठाउँ जम्मा गरिन्छ । र, दिनभर संकलन गरिएको रकम गणना गरिन्छ ।

बालबालिका खोजतलास तथा समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालका अनुसार सडकमा खटिएको एउटा युनिटले मात्रै कम्तीमा पाँच हजार रुपैयाँ दैनिक संकलन गर्छ ।

‘यो पेसामा सन्तान धेरै हुने र रुग्ण शरीर हुनेको महत्व धेरै हुन्छ । सडकपेटीमा युनिट–युनिटका दरले उनीहरू माग्न बस्छन् । एउटा युनिटमा कम्तीमा पाँचजना बालबालिका सहभागी हुन्छन् । एउटाले कम्तीमा पनि दैनिक आठ सयदेखि एक हजार रुपैयाँ संकलन गर्छ । यही दरमा पाँचजनाबाट एकै दिनमा पाँच हजार रुपैयाँ जम्मा हुन्छ । मगन्तेहरूका लागि यो आकर्षक कमाइ हो,’ उनले भने ।

प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार  २ : ०२ बजे