भण्डारेघाटमा सामुदायिक स्वास्थ्य इकाईको सुरुवात, एक हजारबढी घरधुरीले लाभ उठाउने अपेक्षा



खोटाङ फागुन, १८–
दिप्रुङ चुइचुम्मा गाँउपालिकाका अध्यक्ष भूपेन्द्र राईले भण्डारेघाटमा सामुदायिक स्वास्थ्य इकाईको उदघाटन गरेका छन् । अध्यक्ष राईले एक हजारबढी घरधुरीले लाभ उठाउने सामुदायिक इकाईको शुक्रबार उदघाटन गरेका हुन् । टेम्मापछि बतासेको भण्डारेघाटमा सामुदायिक स्वास्थ्य इकाईको सुरुवात भएको हो । गाउँघरमै सामान्य स्वास्थ्य उपचार दिलाउन दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटमा स्वास्थ्य इकाईको सुरुवात भएको हो । स्वास्थ्य इकाई स्थापनासँगै चार घण्टा बढी पैदल हिडेर स्वास्थ्य चौकी धाउनुपर्ने स्थानीयको बाध्यता अब भने हटेको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न औषधी तथा उपकरण खरीदपछि भण्डारेघाटमा साविकको गाउँघर क्लिनिक राखिएको घरमा निःशुल्क दुइवटा कोठामा स्वास्थ्य इकाईको स्थापना गरिएको हो । भण्डारेघाटसहित खोटेहाङ गाउँपालिकाको लिच्किराम्चे, हलेसी तुवाचुङ नगरपालिकाको राजापानी रेग्मीटार र उदयपुरगरी एक हजारबढी घरधुरीले लाभ उठाउने अपेक्षा गरिएको छ । उद्घाटन लगत्तै वडाध्यक्ष लोकेन्द्र राई र स्थानीय बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षणसहित औषधी वितरण तथा सल्लाह सुझाव दिइएकोे छ ।

स्वास्थ्य इकाईका लागि गाउँपालिकाले परिवार नियोजनका साधनहरु सहित ३७ प्रकारका औषधी, बिपि सेट एक थान, आला एक थान, फोरसेफ, सिजर, थर्ममिटर एक थान, प्रोसेफ एक थान र स्केल एकथान उपलब्ध गराएको थियो । सामुदायिक स्वास्थ्य इकाईबाट गर्भवती महिलाको जाँच, आइरन चक्की वितरण, रुघाखोकी, घाउँ, चोटपटक, प्रेसर जाँच, झाडापखला लगायतका सामान्य समस्याको उपचार हुने गाउँपालिका स्वास्थ्य संयोजक मुस्ताक अहमदले बताए ।

यसअघि, भण्डारेघाटका माझी समुदाय लगायतले चार घण्टाबढी हिडेर बतासेमै रहेको स्वास्थ्य चौकी जानुपर्ने बाध्यता थियो । त्यही समस्यालाई ध्यानमा राखेर स्थापना गरिएको स्वास्थ्य इकाईमा अब, उनीहरुले सरलरुपमा सुविधा लिन पाउने संयोजक अहमदले बताए । विगत लामो समयदेखी स्वास्थ्यमा समस्या आउँदा महंगो खर्चमा गाडी चढेर दिक्तेल र सुनकोशी तरेर उदयपुरको गाइघाट धाउदै आएका स्थानीयहरु घर आँगनमै स्वास्थ्य इकाई सुरु भएपछि हर्षित बनेका छन् । यसअघि, गत मंगलबार टेम्मामा सामुदायिक स्वास्थ्य इकाईको सुरुवात गरिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ३ : ११ बजे