रूख कटान गर्ने अनुमतिसँगै वैशाखभित्रै पाइपमार्फत नेपालमा तेल ल्याइने



काठमाडौं फागुन, १९–
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रूख कटान गर्ने अनुमति पाएसँगै राष्ट्रिय गौरवको आयोजना मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणले गति लिएको छ । एक महिनामा जंगलभित्र पनि पाइपलाइन तयार गरी आगामी वैशाखभित्र पाइपमार्फत नेपालमा तेल ल्याइने आयोजनाले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘पथलैयादेखि अमलेखगन्जसम्म पर्ने करिब नौ किलोमिटर क्षेत्रमा रूख कटान सुरु भएको छ,’ पेट्रोलियम पाइपलाइन आयोजना कार्यालय प्रमुख प्रदीप यादवले भने, ‘अब एक महिनाभित्र जंगलतिर पनि पाइप बिछ्याइसकिनेछ, वैशाख महिनाभित्र नेपालमा पाइपमार्फत तेल ल्याउँछौँ ।’

मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माण भारतीय कम्पनी निखिथा इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । एक वर्षदेखि निर्माणमा जुटेको कम्पनीले नेपालतर्फको अधिकांश काम सकेपछि निकुञ्ज क्षेत्रमा पर्ने रूख कटानको आदेश नपाउँदा अल्झिएको थियो । वन मन्त्रालयले रूख काट्ने अनुमति दिएसँगै काम तीव्र रूपमा अघि बढेको आयोजनाले जनाएको छ ।

भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म ६९ किलोमिटर लामो पाइपलाइन बनाउन लागिएको हो । भारतको मोतिहारीदेखि रक्सौलसम्म ३२।८० किलोमिटर पाइपलाइन बन्नेछ । यो क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सकिएको परियोजनाले जनाएको छ । त्यस्तै, नेपालतर्फ रक्सौलदेखि अमलेखगन्जसम्म ३६ दशमलव २० किलोमिटर पाइपलाइन बिछ्याइनेछ । जसमध्ये २७ दशमलव २० किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याइएको छ । बाँकी करिब नौ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज परेकाले समस्या भएको थियो । रूख काट्न अनुमति पाएपछि काम थालिएको छ । कुल ७० प्रतिशत काम सकिएको यादवले बताए ।

पर्सा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रका साना–ठूला गरी ६ हजार पाँच सय ६३ रूख र ८१ हजार ६ सय साना लाथ्रा काट्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ । निकुञ्जभित्रका तीन हजार दुई सय ७३, मध्यवर्ती वन क्षेत्रका एक हजार एक सय १६ र मध्यवर्ती सामुदायिक वन क्षेत्रका दुई हजार एक सय ७४ रूख कटान गरिनेछन् । यहाँको करिब नौ किलोमिटर क्षेत्रमा ३० डायमिटरभन्दा ठूला तीन हजार पाँच सय ९६ र पोल साइजका दुई हजार नौ सय ६७ रूख काटिने सूचीमा परेका छन् ।

टिम्बर कर्पोरेसन शाखा कार्यालय पथलैयाले ८ माघमा पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत छपान भएका रूखहरूबाट काठ तथा दाउरा कटान, मुछान, ढुवानी, पाइलिङ र चट्टा निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । जसअनुसार एक करोड ४७ हेटौँडास्थित निशा सप्लायर्सले साकार गरेको छ । निकुञ्जले कटानका लागि टिम्बर कर्पोरेसनका नाममा पेसी दिएको र त्यसको बोधार्थ पेट्रोलियम पाइपलाइन आयोजना कार्यालयलाई पनि आएको परियोजना प्रमुख प्रदीप यादवले बताए । पहिलो चरणमा परियोजनाको पाइप बिछ्याउने ठाउँका रूख मात्र कटान गरिनेछन् ।

भारतको बिहार राज्यस्थित बरौनी रिफाइनरीबाट पटना–मुगलसराय हुँदै कानपुरसम्म पेट्रोलियम पदार्थ ढुवानी हुने पाइपलाइन सञ्चालनमा छ । पटना–मुगलसराय सेक्टरबीचमा पर्ने बिहारकै सिवान भन्ने ठाउँमा ‘ट्याप अफ प्वाइन्ट’ निर्माण गरी नयाँ पाइपलाइन जोडिन लागेको हो । बिहारबाट एउटा पाइपलाइन भारतकै उत्तर प्रदेशको बैतालपुरसम्म लगिँदै छ भने अर्को पाइपलाइन मोतिहारी हुँदै अमलेखगन्जसम्म ल्याउन लागिएको हो । मोतिहारीदेखि नेपालसँगको रक्सौल बोर्डरसम्म ३२ दशमलव ८० किलोमिटर र रक्सौल बोर्डरदेखि अमलेखगन्जसम्म ३६ दशमलव २० किलोमिटर दूरी छ ।

यसको परियोजनाको ‘ट्याप अफ प्वाइन्ट’ मोतिहारीभन्दा अमलेखगन्ज उच्च भागमा रहेकाले त्यही उचाइअनुसार पाइपलाइनको प्राविधिक संरचना निर्माण गरिएको छ । मोतिहारीको उचाइ समुद्री सतहबाट ७६ दशमलव ६ मिटर मात्र छ भने अमलेखगन्जको उचाइ तीन सय तीन मिटर छ । होचोे स्थान मोतिहारीबाट अग्लो स्थान अमलेखगन्जतर्फ तेल पठाउनुपर्ने भएकाले मोतिहारीमा उच्च क्षमताको पम्पमार्फत पाइपलाइनमा तेल पठाइनेछ । त्यसले गर्दा पनि उच्च गुणस्तरको पाइप राखिएको परियोजना प्रमुख यादवले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  २ : १८ बजे