काठमाडौं फागुन, १९–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।
करिब सात दशक लामो समय वाम आन्दोलनमा समर्पित गर्दै राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि २३ पुषदेखि अधिकारीलाई ललितपुरको मेडिसीटी अस्पतालमा राखिएको थियो । तर, स्वास्थ्यमा थप सुधार नभएपछि चिकित्सकहरुको सल्लाहमा २४ माघमा ह्याम्स अस्पताल सारिएको थियो ।
स्वास्थ्यमा थप समस्या देखिएपछि १६ दिनदेखि भेन्टिलेटरमा राखेर गरिएको उपचारले पनि स्वास्थ्यमा सुधार भएन । तीन दिनदेखि अधिकारी अचेत थिए ।
०४७ को संविधानको मस्यौदाकार रहेका अधिकारीले ०५१ सालको तत्कालीन एमालेको ९ महिने अल्पमतको सरकारमा वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाको कार्यक्रम, गाउँमा बजेट केन्द्रीत गरिएको–‘आफ्नो गाउँ आफैँ बनाऊ’ कार्यक्रम लागू गरेर लोकप्रिय अर्थमन्त्रीको छवी बनाएका थिए । उनकै पालामा सुरु भएको सामाजिक सुरक्षा कार्यक्रमले अहिलेसम्म निरन्तरता पाएको छ । दुई पटक उपप्रधानमन्त्री, चार पटक अर्थमन्त्री, एक पटक यातायात तथा निर्माण मन्त्री, मोरङबाट चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक मामिलासहित विभिन्न विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन शेरबहादुर देउवा र झलनाथ खनाल नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए ।
पूर्व एमालेको छैठौंदेखि आठौं महाधिवेशनसम्म उनले महाधिवेशन आयोजक मूल व्यबस्थापन कमिटीको संयोजकको जिम्मेवारी पनि सम्हाले । पूर्व अर्थमन्त्री अधिकारीलाई तीन खम्बे अर्थ नीतिको बजेट लागू गर्ने योजनाकारका रुपमा पनि लिने गरिन्छ ।