भरतमोहनको पार्थिव शरीरमा अध्यक्षद्वयले झण्डा ओढाए, पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिईदैँ



काठमाडौं फागुन, १९–
शनिबार राति निधन भएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् ।

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा अध्यक्षद्वयले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् ।

अधिकारीको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो । अधिकारीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ता र सर्वसाधारणको नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा घुइँचो लागेको छ ।

नेकपाले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । साथै यही फागुन २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णयसमेत नेकपाले गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ५ : ३८ बजे