श्रीमतीलाई भान्से राखेर तलब खुवाउने उपमेयरद्वारा एकमुष्ट रकम फिर्ता



काठमाडौं फागुन, २२–
ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आएको तलब एकमुष्ट फिर्ता गरेका छन् ।

उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टराईलाई भान्से नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म दिएको ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उपमेयर भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको स्विकार्दै श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोष खातामा जम्मा गरेको बताए ।

समयमै ऐन, कानुन, नीतिनियम, कार्यविधि, निर्देशिका उपलब्ध नहुँदा गल्ती भएको उनले बताएका छन् । गत आइतबार फुङलिङ नगरपालिकाका मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरेर तलब खुवाउँदै आएको समाचार छापिएको थियो ।

मेयर छत्रपति प्याकुरेलले जानी–नजानी कतिपय गल्ती भएकाले सच्याउँदै जाने बताए । पहिलो जनप्रतिनिधि भएका कारण नियम–कानुन नबुझेर पनि गल्ती भएको उनको भनाइ छ ।

‘सबै अडिट रिपोर्ट हामीले हेरेका छैनौँ, बेरुजु देखिएको रकम तिर्छौँ,’ उनले भने । प्याकुरेलले स्थानीय कुमार मादेनलाई नियमविपरीत सल्लाहकार नियुक्त गरी गत आर्थिक वर्षमा मात्रै तीन लाख भुक्तानी दिएको, आफ्नो निजी घर मर्मतमा सरकारी कोषको ९ लाख खर्च गरेको र साली मथुरा श्रेष्ठलाई कार्यालय सहयोगीका रूपमा नियुक्त गरेर घरमा भान्से बनाएको समाचार छापिएको थियो ।

मंगलबार नै नगर कार्यसमितिको बैठक पनि बसेको छ । बैठकले गल्ती–कमजोरी सुधारेर जाने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रारम्भिक अडिट रिपोर्ट अध्ययन गरी त्यहाँ भएका कमी–कमजोरी सच्याएर अघि बढ्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १ : ५३ बजे