विप्लवका ध्वंसात्मक गतिविधि नियन्त्रणमा ल्याउन सरकार गम्भिर छः गृहमन्त्री थापा



धनगढी फागुन, २२–
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको गतिविधिलाई चाँडै नियन्त्रणमा ल्याउने बताएका छन् । बुधबार धनगढीमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरिरहेको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भिर रहेको बताएका हुन् । सञ्चारकर्मीले विप्लव समूहले गराएको विष्फोटबारे राखेको जिज्ञासामा गृहमन्त्री थापाले भने, ‘केही समूहले योबीचमा केही विस्फोटन र ध्वंसात्मक गतिविधि गरेका छन्, यसबारे सरकार गम्भीर छ । यसलाई छिट्टै नियन्त्रण गरिनेछ ।’
सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री थापाले संघीय प्रहरी, प्रदेश प्रहरी निर्माणसम्बन्धी कानुन संसदमा पुगेको र यो पास भएपछि प्रदेश र स्थानीय तहको शान्ति सुरक्षा अझ सुदृढ बनाइने दाबी गरे ।
उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान जारी रहेको बताए । गृहमन्त्री बादलले भने, ‘यो प्रकरणमा सुरुमा केही निकायको लापारबाहीका कारण अन्यौलता पैदा भएको हो । अहिले अनुसन्धान जारी छ ।’

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ४८ बजे