शेखर कोइरालालाई कुनै कारबाही हुँदैन, बोलेकै भरमा कारबाही गर्ने पार्टी कांग्रेस होईनः कांग्रेस सभापति देउवा



विराटनगर फागुन, २३–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलेकै भरमा कांग्रेसमा कसैलाई कारबाही नहुने बताएका छन् । बिहिबार विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बोलेकै भरमा कोही कसै नेतामाथि कारवाही गर्ने पार्टी कांग्रेस नभएको प्रष्ट पारे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले शेखर कोइरालको प्रसंग उठाउदै भने, ‘मैले दुई पटकसम्म बोलाएर मेरो र पार्टीको विरुद्धमा कुरा नगर्नुस् भनेर सम्झाउँदा पनि उहाँ मान्नु भएन।’ उनले थपे, ‘पार्टी र मेरा विरुद्ध अभियाननै चलाउनुभयो, त्यही भएर मैले पनि उहाँका विरुद्धका कुरा गर्नुपर्ने अवस्था आयो।’
सभापति देउवाले बोलेकै भरमा शेखर कोइरालामाथि कुनै कारबाही नहुने प्रष्ट पारे । विराटनगरमा केही दिनअघि डा. कोइरालाले राजनैतिक संस्कार नभएको भनेर देउवाका बारेमा टिप्पणी गरेका थिए।
सभापति देउवाले पार्टीको १४ औं महाधिवेशनको मिति समय र परिस्थितिमा निर्भर हुने बताए । उनले भने, ‘महाविधेशन तोकिएकै मितिमा गर्ने प्रयास भइरहेको छ, तोकिएकै मितिमा महाधिवेशन आयोजना गर्न सक्दो प्रयास गर्ने हो ।’ उनले परिस्थिति अनुकूल नभए महाधिवेशन सार्न सकिने संकेत पनि गरे ।

उता नेता प्रकाशमान सिंहको घरमा पार्टीका अन्य नेताहरु बीचमा भएको गोप्य बैठकलाई सामान्य रुपमा लिएको उनको भनाइ छ । उनले भने, ‘पार्टीका साथीहरु एक ठाउँ बसेर छलफल गर्नुलाई नराम्रो रुपमा लिन हुँदैन, त्यस्ता छलफल र बैठकले पार्टीभित्र कुनै फरक पार्ने पनि छैन।’

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ९ : ५२ बजे