काठमाडौं फागुन, २४–
नेकपाका चार शीर्ष नेताले तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् । वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँगको अनौपचारिक छलफलका क्रममा बैठक बोलाउन माग गरेका हुन् ।
‘हामीले तत्काल पार्टी बैठक बोलाउन उहाँहरू (ओली–दाहाल) लाई अनौपचारिक रूपमा भनिरहेका छौं,’ वरिष्ठ नेता खनालले अन्नपूर्णसँग भने, ‘तर उहाँहरू बैठक बोलाउन तत्पर हुनुभएको छैन ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
स्थायी समितिले पार्टी एकताको ठोस प्रस्ताव तयार पार्न गठन गरेको कार्यदललाई १० फागुनको सचिवालय बैठकबाट विघटन गरेको थियो । अध्यक्षद्वय ओली र दाहालले कार्यदल विघटनपछि एकताको ठोस प्रस्ताव सचिवालयले तयार पार्ने र स्थायी समिति बैठकबाट अनुमोदन गराउने बताएका थिए । तर त्यसयता एकता प्रस्तावमा सचिवालयमा छलफल नभएपछि असन्तुष्ट बनेका चार नेताहरूले सचिवालय बैठक बोलाउन माग गरेका हुन् । कार्यदल विघटन गर्ने बेलामा पनि यी चार नेताहरू असन्तुष्ट भएका थिए ।
कार्यदलका संयोजकसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा र कार्यदलका वरिष्ठ सदस्य विष्णु पौडेलले कार्यदलमा बसेर काम गर्न नसक्ने र कार्यदलमा अन्य नेताहरूलाई जिम्मेवारी दिएर पुनर्गठन गर्न माग गरेपछि सचिवालयले कार्यदल विघटन गरेको थियो । थापा र पौडेलले सचिवालयमा गरेको रिपोर्टिङमा कार्यदलले काम गर्न नसकेको उल्लेख गरेका थिए । तर कार्यदलका बहुमत सदस्यले भने काम गर्नै निदइएको भन्दै अध्यक्षद्वयलाई छुट्टै प्रतिवेदन बुझाएका थिए ।
कार्यदलका बहुमत सदस्य सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट र बेदुराम भुसालले एकता गर्दा अवलम्बन गर्नुपर्ने मापदण्डसहितको समानान्तर प्रतिवेदन बुझाएका हुन् ।
नेकपा स्थायी समितिले कार्यदललाई विधान परिमार्जन, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन, केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश कमिटी र प्रदेशस्तरीय विशेष कमिटी गठन, जिल्लासहित मातहत कमिटीको एकीकरण, जनवर्गीय संगठनहरूको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवं मञ्चहरूको एकीकरण र केन्द्रीय विभागहरूको गठनसम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारीसहित कार्यदल बनाएको थियो ।
विधान परिमार्जनबाहेक अन्य विषयमा सहमति जुटेको छैन । तर अध्यक्षद्वयले यस विषयमा आन्तरिक तयारी गरिरहेको अभिव्यक्ति दिइरहेका छन् । सचिवालयका चार शीर्ष नेताहरूले बैठक बोलाउन गरेको आग्रहका विषयमा भने अध्यक्षद्वयले नेताहरूलाई अहिलेसम्म कुनै थप जानकारी दिएका छैनन । ‘यो हप्ता पनि उहाँहरूले बैठक बोलाउने संकेत नदेखेपछि हामीले बैठक बोलाउन भनेका हौं,’ वरिष्ठ नेता खनालले भने ।
यी चार नेताहरूले गत पुस २२ गते पनि अध्यक्षद्वयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सचिवालय बैठक बहिष्कार गरेका थिए । त्यसयता यी चार नेताहरूको गठबन्धन कायम छ । नेकपामा ९ सदस्यीय सचिवालय छ । सचिवालयका अन्य सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलले भने यस विषयमा केही बोलेका छैनन् । अध्यक्षद्वय ओली र दाहाल २५ फागुनमा रौतहटको गरुडा जाने कार्यक्रम छ । त्यहाँबाट नफर्केसम्म सचिवालय बैठक बस्न नसक्ने बालुवाटार स्रोतले बतायो ।