काठमाडौं फागुन, २४–
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माथि आक्रोश पोखेका छन् । उनले विप्लव नेतृत्वको नेकपाका कारण आफूहरुलाई पनि नेकपा भन्न लाज लाग्ने अवस्था आएको प्रष्ट पारे ।
बिहिबार डाक्टर सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नागरिकलाई तर्साएर, बम विस्फोट गराएर नागरिकको हत्या गरेर, चन्दा आंतक मच्चाएर कम्युनिष्टको नाममा राजनीति बन्द गर्न विप्लव नेतृत्वको नेकपालाई चेतावनी दिएका हुन् ।
विप्लव नेतृत्वको नेकपा कुनै राजनीतिक पार्टी नभएको बताउँदै प्रधानमन्त्री ओलीले त्यो एउटा ‘लुटेरा समूह’ मात्रै भएको बताए । उनले भने, ‘अरु पनि लुटेरा समूह छन् भने नाम ‘लुटेरा समूह विप्लव राखे हुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउत समूह आन्दोलन त्यागेर मूल धारको राजनीतिमा आउनु नेपालको राजनीतिमा विशेष अवसर भएको पनि बताए ।
राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक सीके राउतले ११ बुदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।