के ११ बुँदे सहमति सीकेको रणनीति मात्रै हो ? किन रोकिएन मधेसमा ‘स्वतन्त्र मधेस’को नारा ?



काठमाडौं फागुन, २६–
सरकार र स्वतन्त्र मधेस गठनबन्धनका अध्यक्ष सीके राउतबीच ११ बुँदे सम्झौताको मसी सुक्न नपाउदै मधेसमा पुनः स्वतन्त्र मधेसको पक्षमा गतिविधि भएका छन् । बिहीबार सर्वोच्च अदालतको आदेशा रिहा भएका राउतसँग सरकारले ११ बुँदे सहमति गरेको थियो । सीकेले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग एउटै मञ्चमा बसेर राष्ट्रिय सभागृहबाट सम्बोधन पनि गरेका थिए ।

सरकारले सीके राउतले विगतका गल्तीबाट पाठ सिक्दै मुलधारको राजनीतिमा आएको दाबी गरिरहँदा राउतका गतिविधि भने फेरिएका छैनन् । उसो त शुक्रबार ‘राजीनितक सहमति घोषणा’ कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग तुलना गर्दै सीकेको निकै प्रशंसा गरेका थिए ।
विभिन्न शंका गर्न थालिएको छ । र, यही शंकालाई बल पुग्ने गरि सहमतिको भावना विपरित राउतको गठबन्धनले गतिविधि गरिहेको छ । यसमा राउतले पनि सहयोग गरिरहेको देखिन्छ ।

सहमतिको २ नम्बर बुँदामा उल्लेख गरिरहेको ‘जनअभिमत’ शब्दावलीलाई आ–आफ्नै हिसाबले व्याख्या गर्न थालिएको छ । सरकारले निर्वाचनमार्फत समस्याको हल हुने बताएको छ भने सीके राउत र उनका कार्यकर्ताले सरकार जनमत संग्रह गर्न तयार भएको दाबी गर्दै प्रचार गरिरहेका छन् ।

सहमति घोषणा कार्यक्रममा पनि राउतले सरकार जनमत संग्रह गर्न तयार भएपछि सम्झौता भएको सार्वजनिक रुपमै उल्लेख गरेका थिए । तर, राउतपछि बोलेका प्रधानमन्त्री ओलीले न यसको खण्डन गरे न समर्थन । उनी यो विषयमा मौन बसे । जसले गर्दा शंका गर्ने आधार दियो । र, पछिल्लो समय सीके राउतका समर्थकले तराईमा सञ्चालन गरिरहेको गतिविधिले शंका गर्नेहरुलाई प्रशस्त मद्दत मिलेको छ । यद्यपि, सरकार यसमा बेखबर हो या बोल्न नचाहेको हो रहस्यमयी बनेको छ ।

मधेशका विभिन्न जिल्लाहरूमा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन बीच भएको (११)बूँदे समझौताको स्वागत गर्दै दीपावली पनि मनाईएको छ ।

सहमतिविपरित राउतका कार्यकर्ताले सहमति भएको भोलिपल्ट नै सिरहा, सप्तरी, सुनसरी लगायतका जिल्लामा स्वतन्त्र मधेसको झण्डासहित प्रदर्शन गर्दै आफ्नो जित भएको दाबीसहित नारावाजी गरेका छन् । भित्ते लेखन तथा, पर्चा–पम्पलेट, ब्यानर टाँस्ने काम गरेका छन् ।

गठबन्धन र राउतबीच भएको ११ बुँदे सहमतिको ६ नम्बर बुँदामा ‘स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारवाहीको बिषय बनाईने छैन’ भनिएको छ ।

त्यस्तै, आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन भनिएको छ । तर, सीके राउत र उनका कार्यकर्ताले सहमतिको मर्मविपरित पुरानै गतिविधि दोहोर्याइहेका छन् ।

राउत स्वयमले पनि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा स्वतन्त्र मधेसका पक्षमा बल पुग्ने गरि प्रचार सामाग्री राखिरहेका छन् । सरकार जनमत संग्रह गर्न तयार भएको भन्ने प्रचार सामाग्री पनि सीकले सामाजिक सञ्जालमा राखिएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : ४० बजे