नेकपाबाट जितेका गाँउपालिका अध्यक्ष शुक्लाले गरे सैयौ कार्यकर्ता सहित नेकपा परित्याग



रुपन्देही फागुन, २६–
रुपन्देहीमा गाउँपालिकाका अध्यक्षले सत्तारुढदल नेकपा परित्याग गरेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ’बब्लु’ले नेकपा परित्याग गरेको घोषणा गरेका हुन् ।

आइतबार मर्चवारमा रहेको आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष शुक्लाले पार्टी परित्यागको घोषणा गरेका हुन्। शुक्लासँगै उनकी श्रीमती पल्लवीले पनि नेकपा परित्याग गरेकी हुन् । गत निर्वाचनमा तत्कालीन नेकपा एमालेकातर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचन लडेकी पल्लवी पराजित भएकी थिइन्।
नेकपाले मर्चवारका जनतालाई वेवास्ता गरेको र पार्टीका विभिन्न समितिको गठन तथा अन्य कार्यक्रममा कुनै वास्ता नगरेकाले पार्टी परित्याग गरेको शुक्ला दम्पत्तिले बताएका छन् । उनीहरुले स्थानीय सयौं जनतालाई आफ्नै निवासमा बोलाएर पार्टी परित्याग गरेको कारण प्रष्टपारेका थिए ।

अध्यक्ष शुक्लाले गाउँपालिका, वडा तहमा समिति गठन गर्दा, सपथ गराउँदा र अन्य कार्यक्रम गर्दा आफूहरुलाई नसम्झेको तथा मर्चवारका पार्टी नेताहरुले अपमान हुने ढंगले व्यवहार गरिरहेकाले पार्टी छोडेको बताए। स्थानीय तहको निर्वाचनमा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अघि तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए।
मर्चवार क्षेत्रमा लोकप्रिय रहेका शुक्लाले विगतदेखि नै अवसरका आधारमा दल परिर्वतन गर्दै आएका थिए। उक्त अवसरमा अब कुन पार्टी प्रवेश गर्ने भन्नेबारे उनले नखुलाए पनि केही दिनमा निर्णय लिने बुझिएको छ । उक्त क्षेत्रमा नेकपाको जनआधार कमजोर भएकाले नेकपाका नेता वामदेव गौतमको पहलमा उनी नेकपा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : २२ बजे